काठमाडौँ । लोकप्रिय गायन रियालिटी शो ‘नेपाल आइडल’ को छैटौं सिजनमा सिन्धुपाल्चोककी गंगा सोनाम विजेता बनेकी छन्। आइतबार राति राजधानीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि आफ्नो नाममा लेखेकी हुन्।
कार्यक्रमका आयोजकका अनुसार विजेता सोनामलाई २५ लाख रुपैयाँसहितको ट्रफी प्रदान गरिएको छ। त्यस्तै, पहिलो रनरअप ९दोस्रो स्थान० मा परेकी बबिता थापामगरले १० लाख रुपैयाँ प्राप्त गरिन् भने दोस्रो रनरअप ९तेस्रो स्थान० मा रहेकी दर्शना गान्धारीलाई ५ लाख रुपैयाँ प्रदान गरिएको छ।
यसैगरी चौथो स्थान हासिल गरेका अभिनय खाती र पाँचौँ बनेका मृनल मानन्धरले समान एक–एक लाख रुपैयाँ पुरस्कारस्वरूप प्राप्त गरेका छन्।
फिनालेमा उत्कृष्ट पाँचका रूपमा गंगा सोनाम, बबिता थापामगर, दर्शना गान्धारी, अभिनय खाती र मृनल मानन्धरबीच प्रतिस्पर्धा भएको थियो। आकर्षक प्रस्तुति, दर्शकको भोट र निर्णायकहरूको मूल्याङ्कनका आधारमा गंगा सोनाम विजेता बनेकी हुन्।
‘नेपाल आइडल’ २०१७ देखि नेपालमा प्रसारण हुँदै आएको लोकप्रिय अन्तर्राष्ट्रिय गायन प्रतियोगिता हो। यसले नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभा उदाउने महत्त्वपूर्ण प्लेटफर्मको काम गर्दै आएको छ।