काठमाडौँ ।पछिल्ला केही हप्तादेखि नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले फेसबुकलगायत विश्वव्यापी सामाजिक सञ्जाल प्लेटफर्महरूलाई कानुनी ढाँचाभित्र ल्याउने घोषणाले व्यापक चर्चा पाएको छ । सञ्चारमन्त्रीले आफैँ प्रेस भेटघाटमा यी कम्पनीहरूले नेपालमा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने, सम्पर्क बिन्दु तोक्नुपर्ने र राज्यको अधिकारलाई औपचारिकरूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।
तर नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले केही महिना अघि संसदमा “ अब कीर्तिपुरको डाँडोमा ल्यापटप लिएर लाखौँ कमाउन सकिन्छ भनेका थिए ” त्यस भनाईलाइ नेपालीहरुले व्यङ्ग्या गर्दै सामाजिक संजालमा त्यतिबेला उनको भनाइले खुबतर्तामा आयो । रोजगारी र कमाइ सम्भावना नेपालको सन्दर्भमा अझै टाढाको सपना हो भन्ने सन्देश दिएको मानिएको थियो। तर हाल फेसबुक मोनेटाइजेसन नेपालमै सुरु हुने खबर सार्वजनिक भएसँगै, त्यही भनाइलाई लिएर नयाँ बहस सुरु भएको छ।
सरकारले पछिल्ला महिनामा सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने उद्देश्यले दर्ता नभएका प्लेटफर्म हटाउने र नियमन गर्ने नीति अघि सारेको छ । यसबीचमा नै फेसबुकले नेपालमा पनि विज्ञापनमार्फत कमाई गर्ने सुविधा उपलब्ध गराउने तयारी गरेको जानकारी आएको छ। यसले डिजिटल कन्टेन्ट निर्माण गर्ने युवाहरूमाझ उत्साह जगाएको छ।
डिजिटल विज्ञ तथा सामाजिक सञ्जाल विश्लेषकहरूको भनाइमा, फेसबुक मोनेटाइजेसनले युट्युब जस्तै नेपाली कन्टेन्ट क्रिएटरलाई आम्दानी गर्ने अवसर दिलाउन सक्छ। “नेपालका युवाले इन्टरनेटमार्फत रोजगारी सिर्जना गर्न सक्ने सम्भावना बढ्छ, तर कन्टेन्टको गुणस्तर, विज्ञापन बजार र सरकारी नीतिले कस्तो साथ दिन्छ भन्ने कुरामा सफलता निर्भर गर्नेछ,” विज्ञ मीन कुमार श्रेष्ठले बताए।
तर कतिपय आलोचकहरूले फेसबुक मोनेटाइजेसनलाई अझै शंका दृष्टिले हेरेका छन्। उनीहरूको भनाइमा, नेपालमा पर्याप्त इन्टरनेट संरचना, विज्ञापन बजार र कर नीतिमा स्पष्टता नहुँदा यो सुविधा कति प्रभावकारी हुन्छ भन्ने अनिश्चित छ।
यसरी गगन थापाको व्यङ्ग्यात्मक भनाइ अहिले वास्तविक प्रश्नमा रूपान्तरण भएको छ — के साँच्चै अब कीर्तिपुरको डाँडोमै ल्यापटप लिएर लाखौँ कमाउने दिन आउँछ, वा यो अझै सपना मात्रै रहन्छ
