धन बहादुर बोहरा / मंसिर ५ डोटी
गुड नेवर्श इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सिखर नगरपालिकाको समन्वय तथा सामुदायिक विकास केन्द्र डोटीको सञ्चालनमा रहेर एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिका–३ का डाँडाबाग, कालिका र भवानी विद्यालय क्षेत्रमा बालविवाहविरुद्ध जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको हो।उक्त कायक्रममा वडा अध्यक्ष गणेश जोराले सडक नाटकजस्ता कार्यक्रमहरूले समाजमा व्याप्त हानिकारक प्रथाबारे सचेतना बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताउँदै, वडा कार्यालयले यस्ता कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरिएको जानकारी दिए।

भवानी माध्यमिक विद्यालयका प्राध्यापक तथा नाटककार गणेश बहादुर कठायतले समुदायमा अझै पनि बालविवाहजस्ता समस्या देखिने भएकाले यस्ता कार्यक्रमहरूले रोकथाममा सहयोग पुग्ने बताए। नाटक स्थानीय परिवेशलाई आधार बनाएर तयार गरिएको समेत उनले उल्लेख गरे।

सामुदायिक विकास केन्द्र डोटीका कार्यक्रम अधिकृत लक्षण देउवाका अनुसार परियोजना कार्यान्वयन भएका विभिन्न स्थानहरूमा यस्ता सडक नाटक लगाएत अन्य क्रीयाकलाप भइरहेका छन्।उहाका अनुसार सिखर नगरपालिका–३ लाई बालविवाह मुक्त वडा घोषणा गर्ने लक्ष्यसहित विभिन्न गतिविधि सञ्चालन भइरहेको र बाँकी मापदण्ड पूरा गर्न नगरपालिका तथा सरोकारवालासँग निरन्तर समन्वय जारी रहेको बताउनु भयाे ।
