काठमाडौं । हरितालिका तीजलाई ‘नारीहरूको महान् पर्व’ भनेर मानिन्छ। आज हरितालिका तीजको अवसरमा नेपालभरिका हिन्दू नारीहरूले दर खाई भोलि दिनभर निराहार व्रत बस्दै शिव–पार्वतीको पूजा गर्ने परम्परा कायम राख्ने छन् ।
दर खाने दिनमा आमा, दिदीबहिनी र छोरीहरू रातो र हरियो रंगको सुन्दर पहिरनमा सजिन्छन्। हातमा मेहन्दी, निधारमा टीका, ढकमक्क सिन्दुर, गहनाले झिलिमिली, पोते र चूडाले चम्किएका उनीहरू आफ्नो सम्पूर्ण सौन्दर्यलाई उजागर गर्दै परिवार र समाजसँग तीजको खुसी बाँड्छन्। गित, नृत्य र भेटघाटसँगै तीजले नारीलाई मात्र नभई समग्र समाजलाई एकताको सन्देश दिने मान्यता छ।
तर, यति बेला धेरै नेपाली परिवारमा अपुरो खालीपन छ। धेरैजसो श्रीमानहरू रोजगारीका लागि खाडी मुलुक, मलेसिया वा अन्य देशमा पसिना बगाइरहेका छन्। श्रीमती नेपालमा दर खाँदै, भोलि दिनभर व्रत बसेर आफ्नो परिवारको दीर्घ आयु र समृद्धिको कामना गरिरहेकी हुन्छिन् भने विदेशिएका श्रीमान भने टेलिफोन वा भिडियो कलमार्फत् मात्रै आफ्ना प्रियजनसँग यो पर्वको खुसी बाँडिरहेका हुन्छन्।
नेपाल र प्रदेशबीचको यो भावनात्मक दूरीले तीजको वास्तविक पीडा पनि उजागर गर्छ। एकातिर परिवारसँगै दरको स्वाद चाख्न नपाउने पुरुषहरूको बेदना छ भने अर्कोतिर श्रीमानको उपस्थितिबिनै दर खाँदै आँसु झार्ने श्रीमतीहरूको मर्म छ।
समाजशास्त्रीहरू भन्छन् — तीज आज केवल महिलाको पर्व मात्र होइन, यो नेपाली समाजको विखण्डित वास्तविकताको दर्पण पनि हो। एकातिर नारीको भक्ति, श्रद्धा, सौन्दर्य र संस्कृतिको निरन्तरता छ भने अर्कोतिर श्रम प्रवासमा निर्भर नेपाली परिवारहरूको पीडा पनि मिसिएको छ।
यसरी, नेपालका आँगनहरूमा रातो–हरियो सजावटसहित तीज गीत गुन्जिरहेका बेला कतै कतै श्रमको कठोर यात्रामा रहेका पुरुषहरूको मौन पीडाले पनि यो पर्वलाई गहिरो संवेदनशील बनाइदिएको छ।