ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को तेस्रो खेलमा घरेलु टिम ओमानविरुद्ध १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल खडा गर्यो ।
नेपालका ओपनरका ओपनर कुशल भुर्तेलले सर्वाधिक ६९ रन बनाए । उनले ५१ बलमा सात चौका र एक छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो १३औँ अर्धशतक हो । जारी प्रतियोगितामा भने भुर्तेलको यो दोस्रो अर्धशतक हो ।
अर्का ओपनर आसिफ सेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रन थपे । यी दुईले ७।३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, मध्यक्रम र तल्लो क्रमका ब्याटर चल्न नसक्दा नेपाल ठूलो योगफलसम्म पुग्न सकेन ।
गुल्सन झाले नौ बलमा दुई छक्कासहित १८ रन थपे । मोहम्मद आदील आलमे १५ बलमा तीन चौका प्रहार गर्दै १६ रन जोडे ।
ओमानका नदीम खानले चार विकेट लिए । चार ओभर बलिङ गरेका नदीमले २० रनमात्र खर्चिए । सुफयान मेहमुद र जितेन रमानन्दीले समान दुई विकेट लिए ।