डोटी

गुड नेवर्श इन्टरनेश्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र सामुदायिक विकास केन्द्र (CDC–डोटी) को आयोजनामा बाल अधिकार र बाल संरक्षणसम्बन्धी तीनदिने प्रशिक्षक तालिम सम्पन्न भएको छ। एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत उक्त कार्यक्रम जिल्ला सदरमुकाम सिलगढीमा वैशाख ३ देखि ५ गतेसम्म सञ्चालन गरिएको थियो।उक्त तालिममा कार्यक्रम लागू भएका विद्यालयका फोकल शिक्षक, प्रतिनिधि तथा सामुदायिक सहजकर्ता गरी २९ जनाको सहभागिता रहेको थियो।

  

कार्यक्रम परियोजना लागू भएका स्थानीय तहका विद्यालयहरूसँगको समन्वयमा सञ्चालन गरिएको हो। तालिममा बाल अधिकार, बाल संरक्षण, प्रारम्भिक बालविवाह, बाल श्रम, बसाइँसराइ र यसको प्रभाव, डिजिटल सुरक्षा तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेतना लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

यसका साथै, शिक्षा क्षेत्रका चुनौतीहरू, भर्ना दर वृद्धि गर्ने उपायहरू तथा विद्यालय छोड्ने दर घटाउने रणनीतिहरूबारे पनि छलफल गरिएको थियो। कार्यक्रममा गुड नेवर्श इन्टरनेश्नल नेपालका क्लस्टर कोअर्डिनेटर तेजप्रसाद शर्मा, कार्यक्रम अधिकृत गीता चौधरी, दिपायल सिलगढी नगरपालिकाका शिक्षा स्रोत व्यक्ति तथा लडागडा स्वास्थ्य चौकीका इन्चार्जले सहजीकरण गर्नुभएको थियो।तालिमबाट शिक्षकहरूले बाल अधिकार र बाल संरक्षणसम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्नुका साथै विद्यालय र समुदायमा बालबालिकालाई सहयोग गर्ने क्षमतामा सुधार आएको आयोजकले जनाएको छ। साथै, बसाइँसराइ न्यूनीकरण, डिजिटल सुरक्षा सचेतना अभिवृद्धि तथा जोखिममा रहेका बालबालिकाको संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त तालिम आयोजना गरिएको परियोजना अधिकृत लक्ष्मण देउवाले जानकारी दिनुभयो।

यस कार्यक्रमले विद्यालय छोड्ने दर घटाउन, बालबालिकालाई आफ्ना अधिकारप्रति सचेत बनाउन तथा सुरक्षित वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *