धनगढी, साउन १२ — सुदूरपश्चिम प्रदेश सरकारले राजधानी धनगढी सार्ने तयारी थालेसँगै हालको राजधानी क्षेत्र गोदावरीमा विरोध चर्किएको छ।

अघिल्लो प्रदेशसभाले दुई तिहाइ बहुमतका आधारमा गोदावरी नगरपालिका–२ र ४ लाई प्रदेश राजधानी तोकेको थियो। तर, सो क्षेत्र वन क्षेत्रमा पर्ने भएकाले संरचना निर्माणमा समस्या आएको थियो। यही कारण देखाउँदै सरकारले अहिले मुख्यमन्त्री कार्यालय रहेको क्षेत्रलाई नै राजधानी बनाउने तयारी थालेको हो।

तर यो निर्णयप्रति विभिन्न तहमा विरोध सुरु भएको छ।

गोदावरीबाट चर्किएको असन्तोष
प्रदेशसभा सांसद खिमा बिष्टले संसदमा बोल्दै राजधानी सार्ने कुरा ूबेमौसमी बाजाू भएको बताइन्। उनले भनिन्, “एक पटक राजधानी तोकिएको ठाउँ फेरि सार्नु हुँदैन। म नागरिकलाई विरोध गर्न अपिल गर्दछु र संसदमा पनि यसको विरोधमा आवाज उठाउँछु।”

यस्तै, नेकपा एमाले गोदावरी नगरकमिटी अध्यक्ष सन्तोष सिंहले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भनेका छन्, “गोदावरिमा दुई तिहाइ बहुमतले राजधानी घोषणा गरिएको हो, त्यसलाई कार्यान्वयन गर्नुपर्छ। अन्यथा, अखण्ड सुदूरपश्चिम आन्दोलनको झल्को देखाउनेछ एमाले गोदावरीले।”

प्रदेश सभामा बहस, सात दिनमा जवाफ माग
सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले संसदमा उठेका विषयहरूमा सात दिनभित्र प्रदेश सरकारलाई जवाफ दिन निर्देशन दिएका छन्। आइतबार र सोमबारको बैठकमा समसामयिक विषयमा सांसदहरूले आफ्ना धारणा राख्ने अवसर पाएका थिए।

अन्य महत्वपूर्ण आवाजहरू
नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले किसानलाई रासायनिक मलको अभावका कारण उत्पादनमा गिरावट आउने चिन्ता व्यक्त गर्दै प्रदेश सरकारलाई तत्काल मलको व्यवस्था गर्न आग्रह गरे।

सांसद चक्रबहादुर मल्लले चुरे क्षेत्र अतिक्रमण बढेको र समयमै नियन्त्रण नगरे दीर्घकालीन असर पर्ने चेतावनी दिए।

सांसद सन्तोषकुमारी शर्मा थापाले सुदूरपश्चिममा महिला असुरक्षित रहेको भन्दै महिला हिंसाविरुद्धको कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिन्। साथै, प्रदेशका सबै पालिकामा महिला सहायता डेस्क र सेफ हाउस स्थापना गर्नुपर्नेमा पनि जोड दिइन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *