दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजमा लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद झनै चर्किएको छ। १८औँ कार्यसमितिको कार्यकाल सकिएसँगै नयाँ कार्यसमिति गठनका लागि अधिवेशन आह्वान गरिएको भए पनि उम्मेदवारहरूबीच सहमति नजुट्दा अधिवेशनकै दिन कुनै निर्णय हुन सकेन।

अधिवेशनपछि विवाद थप चुलिँदै जाँदा समाजको आर्थिक कारोबारसम्बन्धी विषय पनि छलफलमा आएको थियो। छलफलका क्रममा सेल्टर (आश्रयस्थल) खोल्ने भन्दै सुरुमा मासिक भाडा ३ लाख वन निर्धारण गरिएको भनिए पनि पछि बुझ्दा वास्तविक भाडा १ लाख ५० हजार वन मात्र रहेको खुलेको आरोप लगाइएको छ। त्यसैगरी नेपालस्थित एक संस्थालाई स्पष्ट निर्णय र प्रक्रिया बिना नै ६ लाख रुपैयाँ दिन खोजिएको तथा कुनै सांस्कृतिक कार्यक्रम नै नगरी ‘सांस्कृतिक कार्यक्रम’को नाममा करिब ४० लाख वन खर्च गरिएको विषयमा पनि गम्भीर विवाद उत्पन्न भएको थियो। ती विषयहरूमा विवाद चर्किएपछि नयाँ कार्यसमिति गठन प्रक्रिया रोकिएको बताइएको छ।

यहीबीच, बिहीबार एक्कासी समाजका प्रमुख संरक्षकले एकलौटीरूपमा नयाँ कार्यसमिति घोषणा गरेपछि विवाद अझै चर्किएको छ। उक्त कदमलाई अवैधानिक र एकपक्षीय भन्दै समाजभित्र समानान्तर समिति बनेको दाबी गरिएको छ। यस घटनापछि समाज विघटन गर्नुपर्ने माग समेत केही पक्षबाट उठ्न थालेको छ।

हाल विवाद समाधानका लागि विभिन्न पक्षबीच सहमतिको प्रयास भइरहेको र सहमति कायम भएपछि मात्र विधिसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरिने जानकारी आएको छ। तर सहमति कहिले र कसरी हुन्छ भन्ने विषय अझै अनिश्चित देखिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *