मेरो नर्मल डेलिभरी हुन्छ कि अपरेसन गर्नुपर्ला ? कतिपय गर्भवती महिलालाई यो कुराले धेरै नै सताउने गर्छ । यही चिन्ताकाबिच पछिल्लो समय अपरेसन गरेर बच्चा जन्माउने महिलाको सङ्ख्या बढिरहेको छ ।
कतिपय अवस्थामा चिकित्सकको सल्लाहमा अपरेसन गरिन्छ भने कतिपय अवस्थामा गर्भवती महिला कै अनुरोधमा पनि अपरेसन गरेर बच्चा जन्माउने गरिन्छ । अपरेसन वा नर्मल डेलिभरी- कसरी बच्चा जन्माउनु फाइदाजनक हुन्छ होला ? परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जस्मिन श्रेष्ठसँग यही विषयमा कुराकानी गरेका छौँ ।
- नर्मल डेलिभरी गर्दा राम्रो कि अपरेसन गरेर बच्चा जन्माउनु राम्रो ?
नर्मल डेलिभरीको फाइदा बेफाइदा दुवै छ । अपरेसन गरेर बच्चा जन्माउनुको पनि फाइदा बेफाइदा दुवै छ । नर्मल डेलिभरीमा प्राकृतिक बाटो भएर बच्चा निस्कन्छ । त्यसले बच्चाको दिमाग र फोक्सोमा स्किुइजिङ भएर बच्चालाई सास फेर्न सहज हुन्छ भन्ने गरिन्छ । तर यसो भन्दैमा सबैको नर्मल डेलिभरी गराउने भन्ने हुँदैन । कसलाई नर्मल डेलिभरी गराउने, कसलाई अपरेसन गर्ने अर्थात् सी सेक्सन गर्ने भन्ने कन्डिसनहरू छन् ।
नर्मल डेलिभरीमा ६ देखि ८ घण्टा व्यथा लाग्छ र पीडा हुन्छ । राम्रो पाटो भनेको डेलिभरीपछि अस्पतालबाट छिट्टै घर जान पाइन्छ, कम ट्रमा हुन्छ । तर अपरेसन गरेर बच्चा जन्माउँदा आमाको ज्यानमा खतरा हुँदा वा बच्चाको ज्यानमा खतरा हुँदा अपरेसन गरेर डेलिभरी गराउने गरिन्छ । यो अवस्थामा पेट भन्दा मुनी एनेस्थेसिया दिने गरिन्छ । यो औषधीको रियाक्सन के कस्तो हुन्छ भन्ने थाहा हुँदैन । अपरेसन पेट काटेर गर्नुपर्छ । बढी रगत बग्ने, अन्य कारणले गर्दा पाठेघर निकाल्नु पर्ने अवस्था समेत हुन सक्छ । नर्मल डेलिभरी गर्नेको तुलनामा डेलिभरी पछि धेरै पीडा हुने, कमजोर महसुस हुने हुन्छ । मानसिक रूपमा पनि कमजोर र बिरामी महसुस हुन्छ । तर अवस्था अनुसार नर्मल डेलिभरी पनि राम्रो नै हुन्छ । अपरेसन गरेर पनि राम्रोसँग बच्चा जन्माउन सकिन्छ ।
- अपरेसन गरेर बच्चा जन्माएका महिलाले के गर्दा घाउ छिट्टै निको हुन्छ ?
कतिपय महिलाहरू अपरेसन गरेपछि घाउमा समस्या हुन्छ भनेर हिँड्ने गर्दैनन् । एकै ठाउँमा सुतेर बस्नेहरू पनि हुन्छन् । तर यसो गर्नुहुँदैन । अपरेसन गरेको २४ घण्टापछि हिँडेर शौचालय जाने र उठ्ने गर्नुपर्छ । त्यसले गर्दा रगतको सर्कुलेसन बढ्छ र घाउ चाँडो निको हुन्छ ।
- अपरेसन नगरी बच्चा जन्माउन गर्भवती महिलाले के गर्न सक्छन् ? केही उपाय छ ?
सहरमा बस्ने महिलाहरूको जीवन शैली गाउँमा बस्नेको भन्दा फरक छ । गाउँमा बस्ने महिलाको अपरेसन कमै हुन्छ । किनभने उनीहरू दैनिक घरको काम गरिरहेका हुन्छन्, हिँडडुल गर्छन् । प्रायको सहरमा रहेका महिलाहरू बसेर गर्ने काम बढी गर्छन् । अफिसमा पनि बसेर पनि गर्छन् । त्यसैले शारीरिक गतिविधि कम हुन्छ । शारीरिक गतिविधि कम भएपछि नर्मल डेलिभरीको पीडा खप्न सक्ने शक्ति पनि कम हुन्छ । शरीरको मांसपेशी पनि खुम्चन्छ त्यसैले बच्चा नर्मल बाटोबाट आउन गाह्रो हुन्छ । अहिले नर्मल डेलिभरी गर्नको लागि अस्पतालमा प्रीनेटल इक्ससाइज पनि सिकाइन्छ । अहिले पेनलेस डेलिभरीको पनि कन्सेप्ट आएको छ । पेनलेस डेलिभरी पनि गराउन सकिन्छ यो उपाय पनि गर्न सकिन्छ ।
Source:- Ratopati