प्रत्येक वर्ष नोभेम्बर १९ का दिन मनाइने विश्व शौचालय दिवस शिखर नगरपालिका–४ को विभिन्न विद्यालयहरूले यस वर्ष पनि विविध कार्यक्रम आयोजना गर्दै भव्यतापूर्वक मनाएका छन्।


शिखर नगरपालिका अन्तर्गतका सिद्धेश्वर माध्यमिक विद्यालय बानडुग्रीशैन, हरीहर माध्यमिक विद्यालय तलकोट, सरस्वती माध्यमिक विद्यालय चुडी र राधाकृष्ण माध्यमिक विद्यालय तिजालीमा विद्यार्थी तथा समुदाय सहभागी हुने खालका स्वास्थ्य–स्वच्छता केन्द्रित गतिविधिहरू सञ्चालन गरिएको थियो।


दिवसको अवसरमा विद्यालय परिसर तथा सामुदायिक स्थानहरूको सरसफाइ अभियान, स्वच्छता र खानेपानी सम्बन्धी वत्तृत्वकला, कविता प्रतियोगिता, सडक नाटक, देउडा कार्यक्रम, प्रभातफेरी लगायतका आकर्षक कार्यक्रम राखिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रतिस्पर्धात्मक रूपमै सहभागिता जनाउँदै सरसफाइ तथा स्वच्छताबारे प्रभावशाली प्रस्तुति गरेका थिए।


विभिन्न प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई जापान सरकार परराष्ट्र मन्त्रालयको आर्थिक सहयोग, गुड नेवर्स जापान र गुड नेवर्स इन्टरनेसनल नेपालको प्राविधिक सहयोग तथा सामुदायिक विकास केन्द्र डोटीको साझेदारीमा सञ्चालित बालबालिकाको पोषण स्थितिमा सुधार परियोजना मार्फत सरसफाइ सामग्री पुरसकारकाे रूपमा प्रदान गरिएको थियो।


स्वस्थ नागरिक र समुन्नत समाज निर्माणका लागि विद्यालय तथा समुदाय स्तरमै स्वच्छता बारे जनचेतना विस्तार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको परियोजना अधिकृत नरेश ओझाले बताए। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा स्थानीय समुदायको उत्साहजनक उपस्थिति र सक्रिय सहभागिता देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *