निलो आकाश उस्तै छ, तर परदेशको आकाशले घरको सम्झना दिँदैन। बिहानको घाम ड्युटीको साईरेनसँगै उठ्दै आउँछ, र रातको निन्द्रा थकानले होइन, घरको यादले हराउँछ।
यही त होला — परदेशी जीवन।

आफ्नो परिवार, आफन्त, साथीभाइ र जन्मभूमि छोडेर परदेशिन्छ एक मनोहर आफ्ना रहर बेच्दै परिवारकासपना बोक्दै —विदेशमा श्रम गर्न, आफ्नो र परिवारको भविष्य सुधार्ने सपना बोक्छ । तर यो यात्राको मूल्य केवल पसिनाले मात्र तिर्नु पर्ने हुँदैन रहेछ , भावनात्मक रूपमा पनि ठूलो मूल्य चुकाउनु पर्दाे रहेछ — “आफन्त छुट्नु” भन्ने शब्दले जसरी सबै कुरा समेटिदिन्छ ।

रहर त मलाई पनि हुँदो हो। आफ्ना आफन्तीसँग खुलेर मनका हरेक रहरहरू पोख्न तर परदेशी जीवन सुरु भएपछि समय, दायित्व र थकानले मानिसलाई बदल्दै लदोरहेछ । बिहानको ड्युटी, रातको ओभरटाइम, सीमित बिदा र फरक समय क्षेत्रले गर्दा घरपरिवारसँग नियमित सम्पर्क राख्नै कठिन हुन्छ। एकपटक विदेश पुगेपछि साथीभाइ, दिदीबहिनी वा आमाबाबुका फोन पनि बिस्तारै घट्दै जान्छ । कहिलेकाहीँ सामाजिक सञ्जालमा उनिहरुको गतिविधि हेरेर सम्झना गर्न पाइन्छ, तर त्यो पनि कामको व्यस्तताले निरन्तर सम्भव हुँदैन।

नेपालमा बसेका आफन्तहरूले भने प्रायः अर्को दृष्टिले परदेशीलाई हेदौरहेछन् । उनीहरूका लागि परदेश गएको मान्छे अब “पैसा कमाउने” व्यक्ति बनेको हुन्छ। विदेशमा काम गर्न कति कठिन छ, गर्मीमा पसिना चुहाउँदै वा चिसोमा हात गोठ्याउँदै बिताएको समय कति पीडादायक छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन। कहिलेकाहीँ त परदेशीले पठाएको पैसा भन्दा पनि उनी नजिक नहुनु, बुबाआमाको स्वास्थ्यमा सँगै नहुनु, साथीको बिहे वा दिदीको जन्मदिनमा सहभागी हुन नसक्नु — यिनै कुराले मनमा भारीपन ल्याउँछ।

परदेशी युवाले भोग्ने यो मानसिक दूरी र एक्लोपन त्यस्तो चीज हो जसको मूल्य कुनै रकमले तिर्न सकिँदैन। विदेशमा बितेका वर्षहरू उसलाई परिपक्व बनाउँछन्, तर साथसाथै आत्मामा एउटा खालीपन पनि भर्छन्।

अन्ततः, “परदेशी जीवनले आफन्त छुटायो” भन्ने कुरा केवल भावनात्मक वाक्य होइन — यो लाखौँ नेपालीहरूको वास्तविकता हो। उनीहरूको पसिना र त्यागले देश चलिरहेको छ, तर उनीहरू आफैं भने आफ्नो जीवनका सबैभन्दा महत्वपूर्ण सम्बन्धहरूबाट क्रमशः टाढिँदै गइरहेका छन्।
तर तपाईँ चिन्ता नलिनु आफन्त म तपाईंबाट टाढिएको छैन। भौतिक दूरी टाढा होला तर मनको दुरी नजिकै छ। कुनै दिन त्यो समय आउनेछ तपाईँसँग हरेक मनका कुरा खोल्नेछु। रमाउनेछु। अनि तपाईँले पनि सम्झिनुहुनेछ र नेपालमा रहेका सबै विदेशमा रहेका परिवारका आफन्तलाई पनि यही भन्न चाहन्छु कि ऊ परदेशिएको हो मन मारेको होइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *