डोटी — सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गर्दै सञ्चालन गरिएको निःशुल्क सिपमूलक तालिम कार्यक्रम सम्पन्न भएको छ।पुष २८ गतेदेखि चैत ५ गतेसम्म राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC), कञ्चनपुरको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा तथा सेती प्राविधिक शिक्षालय, दिपायल डोटीको समन्वयमा उक्त तालिम सञ्चालन गरिएको हो।

“सुदूरपश्चिम प्रदेशमा चोरी–सिकारी तथा अवैध वन्यजन्तु व्यापार विरुद्ध समुदाय संलग्नता” परियोजना अन्तर्गत सञ्चालन गरिएको तालिममा बेमौसमी तरकारी खेती, मोबाइल रिपेयरिङ र बिल्डिङ इलेक्ट्रिसियन (३९० घण्टा) सम्बन्धी उद्यमशीलता तथा रोजगारमुखी सीप प्रदान गरिएको थियो।तालिममा दिपायलमा तह–१ का ४० जना तथा कञ्चनपुरमा मोबाइल रिपेयरिङतर्फ २० जना गरी कुल ६० जना युवाको सहभागिता रहेको थियो। कार्यक्रममा कैलाली, डोटी, बझाङ, बैतडी, डडेलधुरा र दार्चुलाका युवाहरू सहभागी भएका थिए।

मानव–वन्यजन्तु द्वन्द्व तथा वन्यजन्तुको अवैध व्यापार न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिममा यस्ता गतिविधिबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित युवाहरूलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशी ले यस्ता सीपमूलक तालिमले युवाहरूलाई स्वरोजगार तथा वैकल्पिक आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने बताए। उनका अनुसार ग्रामीण तथा अर्धशहरी क्षेत्रमा बसोबास गर्ने युवालाई लक्षित गरिएको कार्यक्रमले स्थानीय स्तरमै उद्यमशीलता विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

मोबाइल रिपेयरिङ तालिममा सहभागी दार्चुलाका युवा सुरज लुहार ले यस्तो अवसर प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले सिकेको सीप व्यवहारमा उतार्दै आफ्नै ठाउँमा साना व्यवसाय सञ्चालन गरी परिवारको आर्थिक अवस्था सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।आयोजक संस्थाका अनुसार यस्ता कार्यक्रम आगामी दिनमा सुदूरपश्चिमका अन्य प्रभावित क्षेत्रमा समेत विस्तार गरिनेछ। यस प्रकारका पहलहरूले युवाको सशक्तीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *