खेम खत्री, डोटी – हिन्दु धर्मावलम्बीहरूले भगवान श्रीकृष्णको जन्मदिनको अवसरमा प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रद्धा र भक्तिपूर्वक धुमधामका साथ मनाउँदैछन्।
भगवान श्रीकृष्णको पूजा–आराधना, व्रत, भजन–किर्तन, प्रवचन र जाग्रामका माध्यमबाट भक्तहरूले यो पर्व विशेष उत्साहका साथ मनाउने गर्दछन्।
पौराणिक कथाअनुसार, अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव समाजलाई रक्षार्थ भगवान विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्ण भाद्र कृष्ण अष्टमीको मध्यरातमा, कारागारमा कैद माता देवकी र पिता बासुदेवको कोखबाट जन्म भएको मानिन्छ।
सिरमा मयुरपंख, हातमा मुरली, गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुनसहित बाल्यकालदेखि नै अनौठा लीलाले भक्तजनलाई मोहित बनाउने श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका किंवदन्तीहरू पाइन्छन्।
काठमाडौंको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा आज विशेष मेला लाग्ने छ भने देशभरका विभिन्न धार्मिक सङ्घ–संस्थाद्वारा शोभायात्रा र झाँकी प्रदर्शन गरिने परम्परा छ। भारतसहित विश्वभर रहेका हिन्दु समुदायले पनि यस पर्वलाई हर्षोल्लासका साथ मनाउने गर्दछन्।
