तेजु ओली  — चैत्र १०

डोटी —

सामुदायिक विकास केन्द्र (CDC) डोटीले सेभ द चिल्ड्रेन काे सहयाेगमा डाेटिमा रहेकाे बालसुधार गृहलाई विभिन्न स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ। संस्थाले बालबालिकाको शैक्षिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री उपलब्ध गराएको जनाएको छ।

हस्तान्तरण गरिएका सामग्रीहरूमा भलिबल २ थान, फुटबल २ थान, ब्याडमिन्टन सेट २, कर्क (शटलकक) २ सेट, क्रिकेट सेट १, क्यारम बोर्ड १ सेट, कपी २० दर्जन, पेन २० दर्जन, पेन्सिल २० दर्जन, सर्पेनर २० प्याकेट, इरेजर २० प्याकेट र कलर बक्स २० सेट रहेका छन्। उक्त सामग्रीको कुल मूल्य ४९ हजार १८० रुपैयाँ रहेको छ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि यस्ता सामग्री अत्यन्त आवश्यक हुने बताउनुभयो। उहाँले हाल एसईईको पूर्वतयारी तथा अन्य कक्षाका परीक्षाहरू सञ्चालन भइरहेका बेला स्टेशनरी सामग्रीले अध्ययनमा ठूलो सहयोग पुग्ने उल्लेख गर्नुभयो। साथै, इनडोर तथा आउटडोर खेल सामग्रीले बालबालिकाको मानसिक र शारीरिक सबलतामा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो।


त्यस्तै, दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्काले बालबालिकाका लागि खेलमैदान विस्तार तथा खुला स्थानको व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक हेमराज जोशीले संस्थाले लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यस्ता सामग्री हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले सामग्रीको सदुपयोग तथा संरक्षण भएमा आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।


बालसुधार गृहकी कार्यालय प्रमुख सानुमाया लिम्बुले सहयोग गर्ने संस्था तथा साझेदार निकायप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक एकराज बडु, सञ्चारकर्मी तथा ३८ जना बाल सुधार गृहमा रहेका बालबालिकाको उपस्थिति रहेको थियो। २५ जना क्षमता रहेको उक्त बालसुधार गृहमा हाल क्षमता भन्दा बढी बालबालिका राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *