डाेटी सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजना तथा पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको सहकार्यमा लागु औषध विरुद्धको प्रदेश स्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बुधबार सिलगढीमा पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको सभाहलमा “लागु औषध मुक्त प्रदेश : हाम्रो अभियान, हाम्रो पहिचान” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा पछिल्लो समय भुसको आगोझैँ फैलिँदै गएको लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै, जिल्लाका सबै स्थानमा निरन्तर र सशक्त अभियान आवश्यक रहेकोमा जिल्ला समन्वय समिति डोटी का प्रमुख लक्षण सिंह ले बताउनु भयो ।

वक्ताहरूले “लागु औषधले शरीर मात्र होइन, सपना र भविष्यसमेत नष्ट गर्छ” भन्दै यो समस्या कुनै एक व्यक्ति वा परिवारमा सीमित नरही सम्पूर्ण समाज र राष्ट्रकै चुनौती बन्दै जान सक्ने  प्रदेश युवा परिषद्का कार्यकारी गजेन्द्र सावदले बताउनुभयो।कार्यक्रममा बेरोजगारी, निराशा, गलत संगत, पारिवारिक बेवास्ता तथा मानसिक स्वास्थ्यप्रति उदासीनता दुर्व्यसन बढ्नुका प्रमुख कारण रहेको दिपायल सिलगढी नगरपालिका उपप्रमुख कलावती साउद ले बताउनु भयो।

 विशेषगरी युवा पुस्ता बढी जोखिममा रहेको भन्दै समयमै सचेतना आवश्यक रहेको धारणा राख्दै दिपायल सिलगढी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेश मलासीले “आजको दुर्व्यसन भोलिको अपराधको बीउ हो” भन्दै समयमै रोकथाम र सचेतना नगरे यसको मूल्य समाजले चुकाउनुपर्ने अवस्था आउने बताउनु भयो।

त्यसैगरी दुर्व्यसनी अपराधी होइन, उपचार र सहानुभूति चाहिने नागरिक हो भन्ने सन्देशसहित, घृणा र दण्डभन्दा पनि उपचार, सहयोग र पुनर्स्थापनाबाट मात्र नशामुक्ति सम्भव हुने कुरामा जोड बक्ताहरुले दिनु भएको थियो। न्यूनीकरणका लागि पहिलो कदम रोकथाम भएको उल्लेख गर्दै विद्यालय तहदेखि नै सचेतना, अभिभावक –बालबालिकाबीच खुला संवाद र सकारात्मक जीवनशैली प्रवर्द्धन आवश्यक रहेको पद्म पब्लिक मुक्तिनारायण मा बि का प्रधानाध्यापक केशव ओझाले बताउनु भयो ।

कार्यक्रममा लागु औषध ओसारपसारमा संलग्नलाई कडा कारबाही र प्रयोगकर्तालाई गुणस्तरीय उपचार तथा पुनर्स्थापनाको व्यवस्था अनिवार्य रहेकोमा जोड दिइएको थियो।आज बचाइएको एक जीवन, भोलिको उज्यालो भविष्य हो भन्ने सन्देशसहित, लागू औषध विरुद्धको लडाइँ सरकार वा संस्थाको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएकाले लागुऔषध मुक्त जिल्ला र प्रदेश निर्माणका लागि सबैले हातेमालो गर्नुपर्ने पत्रकार महासंघ डोटी का अध्यक्ष प्रकाश बमले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *