नेपालका गाउँहरू दिनानुदिन सुनसान बन्दै गएका छन्। घर त छन् तर मानिस छैनन्, आँगन छ तर रमाइलो छैन। खेतबारी बाँझो, गोठ खाली, आँगन सुनसान—यही हो अहिले धेरै गाउँको वास्तविकता।
आदिकालदेखि मानिसको जीवन संघर्षमै घेरिएको छ। कसैले खेतबारीमा पसिना बेचेर बाँच्ने, कसैले परदेशको धुलो धुल्दै भविष्य खोज्ने। मेरो परिवार पनि यही यात्राको हिस्सा हो। पुर्खौंदेखि हामी पिछडिएका र गरिबै थियौँ। जिजुबाजेको जीवन कस्तो थियो भन्ने पनि स्पष्ट छैन, तर बुबाको कथा भने संघर्षकै धरोहर हो।
बालापनमै बुबा भारत पसे। विभिन्न सहरमा श्रम बेच्दै पसिना बगाउँदै, हामीलाई जीवनका आधारभूत आवश्यकता पूरा गर्नुभयो। आफ्नो थकाइ, पीडा र अभावलाई नदेखाई हामीलाई कहिल्यै कमी हुन दिनुभएन। हाम्रो सानो सपना पूरा गर्न उहाँले जस्तोसुकै श्रम गर्न पछि पर्नुभएन। बुबाको जीवन आज पनि संघर्षमै छ।
हाम्रो जस्तै परिवार पनि यसैको एउटा उदाहरण हो। पुर्खौंदेखि गरिबी र अभावले पिडित, बुबा बालापनमै भारत पस्नुभयो। पसिना बेचेर घर परिवारलाई कहिल्यै कमी हुन दिनुभएन। उहाँको जीवन संघर्षमै बित्यो। तर अहिले पनि उहाँ संघर्षकै बाटोमा हुनुहुन्छ।
अब पालो छोराहरूको आयो। गाउँमा धेरै खर्च गरेर सानो घर त बनाइयो तर आज त्यो घरमा बस्ने कोही छैन।
बा–आमा भारतमै पस्नुभएको छ,
छोरा साउदीमा पसिना बेच्दैछ,
नाति–नातिनी सहरका बोर्डिङ स्कुलमा पढ्दैछन्।
गाउँको घरमा चाबी त छ, तर जीवन छैन।
खाली गाउँ, साझा समस्या
यो कथा केवल एउटा परिवारको होइन, हजारौँ नेपाली परिवारको साझा पीडा हो। राष्ट्रिय जनगणना २०७८ अनुसार हाल करिब २० लाखभन्दा बढी नेपाली विदेशमा बस्छन्। श्रम मन्त्रालयका तथ्याङ्कले हरेक वर्ष करिब ४–५ लाख युवा रोजगारीका लागि विदेशिने गरेको देखाउँछ।
यसकै परिणाम हो—गाउँमा खाली घर, बाँझो खेतबारी र वृद्ध–वृद्धा मात्र।
किन गाउँ छाड्छन् मानिस
रोजगारी र आम्दानीको अवसरको अभाव
शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुविधामा कमी
राजनीतिक अस्थिरता र लगानीको समस्या
विदेशमा छिटो कमाइ गर्ने अपेक्षा
समाधान कहाँ छ
विशेषज्ञहरू भन्छन्—देशमै रोजगारी सिर्जना नगरी पलायन रोक्न सकिँदैन। कृषि, पर्यटन, साना उद्योग र प्रविधिमा लगानी बढाउन सके मात्र गाउँ फेरि जीवन्त हुन्छ। स्थानीय सरकार र समुदायले समेत युवालाई गाउँमै टिकाउन वातावरण बनाउन जरुरी छ।
नेपाली मान्छे सपनाको खोजीमा दौडिरहेको छ। तर त्यो सपना भेटिन्छ वा हराउँछ भन्ने प्रश्न अझै बाँकी छ।
यदि सरकारले र समाजले मिलेर गाउँलाई फेरि जीवन्त बनाउन सकेन भने, आजका खाली घरहरू भोलिका पुस्ताका लागि केवल सम्झनाको संग्रहालय बन्नेछन्।
