डोटी – जिल्लाका विद्यालयहरूमा आधारभूत सुविधा अभावका कारण समस्या झेलिरहेका विद्यार्थीहरू अहिले भने सहज र खुसी भएका छन्। जापान सरकारको सहयोगमा निर्माण गरिएका भौतिक संरचना हस्तान्तरण भएसँगै विद्यार्थीहरूको दैनिकी मात्र होइन, सिकाइमा समेत सकारात्मक प्रभाव देखिएको छ।

यसअघि धेरै विद्यालयमा सफा खानेपानी र पर्याप्त शौचालय नहुँदा विद्यार्थीहरूले पानी पिउन लाइन लाग्नुपर्ने र शौचका लागि बाहिर जानुपर्ने बाध्यता भोग्दै आएका थिए। विशेषगरी छात्रा तथा अपाङ्गता भएका विद्यार्थीहरू यसबाट बढी प्रभावित हुने गरेका थिए। तर अहिले विद्यालयमै फिल्टरसहितको सफा पिउने पानी र बालमैत्री, लैङ्गिकमैत्री तथा अपाङ्गतामैत्री शौचालय निर्माण भएपछि विद्यार्थीहरूमा खुसी छाएको छ। विद्यार्थीहरूका अनुसार यसले दैनिक क्रियाकलापलाई सहज बनाएको छ।

यस्तै, आधारभूत सुविधाको अभावले विद्यार्थीहरूको नियमित उपस्थितिमा असर पर्ने गरेकामा अहिले भौतिक पूर्वाधार निर्माण भएसँगै विद्यालयमा नियमितता बढेको र सिकाइमा सकारात्मक प्रभाव परेको विद्यालय प्रशासनको भनाइ छ।

जापान सरकारको आर्थिक सहयोग, गुड नेवर्स जापानको प्राविधिक सहयोग, गुड नेवर्स इन्टरनेसनल नेपाल र सामुदायिक विकास केन्द्र डोटी र सम बिकास केन्द्रकाे साझेदारीमा तथा शिखर नगरपालिकामा र दिपायल सिलगढी नगरपालीकाको समन्वयमा परियोजना सञ्चालन गरिएको हो। ८ वटा विद्यालयमा  निर्माण गरिएका भौतिक संरचना औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिएको छ। “बालबालिकाहरूको पोषण स्थितिमा सुधार परियोजना” अन्तर्गत निर्माण गरिएका शौचालय, भान्सा घर, खानेपानी धारा तथा फोहर व्यवस्थापन संरचना विद्यालयलाई बुझाइएको हो।

परियोजना अन्तर्गत भान्साका लागि आवश्यक भाडावर्तन, करेसाबारीका लागि बीउबिजन तथा कृषि सामग्री, साथै ल्यापटप, प्रिन्टर र ब्याकअप ब्याट्री समेत उपलब्ध गराइएको छ। यसले विद्यार्थीहरूको पोषण सुधार तथा विद्यालयको सिकाइ वातावरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा नगर प्रमुख दीर्घ बहादुर बलायरले शिक्षा क्षेत्रमा प्राप्त अन्तर्राष्ट्रिय सहयोगले स्थानीय तहलाई थप हौसला दिएको बताए। त्यस्तै दिपायल सिलगढी नगर उप–प्रमुख कलावती साउद   ले ग्रामीण विद्यालयहरूलाई बालमैत्री र समावेशी बनाउन यस्ता संरचना प्रभावकारी हुने बताइन्।

गुड नेवर्स जापानकी प्रतिनिधि मियुकी त्सुजिइले परियोजनाले बालबालिकाको पोषण सुधार र सहजतामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्। सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले भने निर्माण भएका संरचनाको दीगो उपयोग र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए।

यससँगै विद्यालयहरूमा दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन करेसाबारी सञ्चालन गरी स्थानीय स्तरमै सागसब्जी उत्पादन गर्ने लक्ष्य राखिएको छ।सफा पानी र सुरक्षित शौचालयको पहुँचसँगै विद्यार्थीहरूको दैनिकी सहज बन्दै गएको छ भने उनीहरूको सिकाइमा समेत सकारात्मक परिवर्तन देखिन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *