पूर्व राष्ट्रपति विद्या भण्डारी मदन भण्डारी फाउण्डेशनमार्फत एमालेको आन्तरिक राजनीतिमा सकृय बन्ने भएकी छिन् ।
फाउण्डेशनको निर्णयअनुसार स्वर्गीय मदन भण्डारीको हिरक जयन्ती कार्यक्रम तयारीका लागि अलग्गै कार्यालय भाडामा लिएर पूर्व राष्ट्रपति भण्डारी एमालेको आन्तरिक राजनीतिमा सकृय बन्न लागेकी हुन् ।

त्यसका लागि फाउण्डेशनले नयाँ बानेश्वर थापा गाउँमा काठमाडौंका पूर्व उपमेयर बिदूर मैनालीको घर भाडामा लिएर छिट्टै कार्यालय संचालनमा ल्याउनेगरी मर्मतसम्भार अगाडि बढाएको छ ।

हिरक जयन्ती समितिका संयोजक वागमतीका संस्थापक मुख्यमन्त्री डोरमणी पौडेलले कार्यक्रम तयारीकै लागि घर भाडामा लिने तय भएको जानकारी दिए । ‘कार्यालय लिने भन्ने समझदारी थियो, मैले पनि मिडियाबाट कार्यालयका लागि फाउण्डेशनले घर भाडामा लिएको जानकारी पाएँ’ हेटौंडामा रहेका पौडेलले नयाँ पत्रिकासँग भने ।

केही दिनभित्र कार्यालयको मर्मतसम्भार सकिएपछि पूर्व राष्ट्रपति भण्डारीले सोही स्थानबाट पार्टीका नेता–कार्यकर्ताहरुसँग नियमित भेट गर्ने उनी निकट एक नेताले बताए ।

‘केन्द्रीय कमिटीले सदस्यतासम्बन्धमा जे निर्णय गरे पनि उहाँ अगाडि बढ्ने तयारीमै हुनुहुन्छ, विधान महाधिवेशन आउँदैछ, नेता–कार्यकर्ताहरुसँग भेटघाट र सम्पर्क बढाउनका लागि पनि उहाँ नियमित रुपमा हिरक जयन्तीका लागि लिइएको कार्यालयमा आएर पार्टी नेता–कार्यकर्ताहरुसँग नियमित भेटघाट गर्ने र आवश्यक सुझाव लिने काम गर्नुहुनेछ ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *