आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा एमाले डोटीले प्रतिनिधि सभामा प्रदेश सांसद चक्र मल्ल लगाएत ८ जनालाई प्रमुख दाबेदारका रूपमा सिफारिस गरेको छ। जिल्ला कमिटीको आज बसेको बैठकले मल्लसहित ८ जनाको नाम केन्द्रमा सिफारिस गरेको हाे ।

विगतमा प्रदेश सभा सदस्यमा निर्वाचित मल्ल अहिले प्रतिनिधि सभाको दौडमा उभिएपछि डोटीमा उहाको राजनीतिक सक्रियता र नेतृत्व क्षमता फेरि चर्चामा आएको छ। जनतामा निकट, संगठन सुदृढीकरणमा अग्रसर र विकासका एजेण्डामा स्पष्ट धारणा राख्ने नेता मल्ल डोटी जिल्लामा सक्षम र प्रभावशाली राजनीतिक व्यक्तित्वका रूपमा पहिचान बनाइरहेका छन्।
सिफारिस सूचीमा नेकपा एमाले उपमहासचिव लेखराज भट्टको समेत नाम समावेश गरिएको छ। भट्टको नाम यसअघि कैलाली–४ बाट पनि सिफारिस भइसकेको छ।त्यस्तै, दिपायल सिलगढी नगरपालिकाकी पूर्व नगर प्रमुख तथा नेकपा एमाले डोटी जिल्ला अध्यक्ष मञ्जु मलासी पनि प्रतिनिधि सभा सिफारिसमा परेकी छन्। नगर प्रमुख रहँदा नगर विकास र सुशासनतर्फ गरेका कामका कारण मलासी जनतामुखी नेतृत्वका रूपमा स्थापित भएकी छन्।
यस्तै, पूर्वीचौकी गाउँपालिकाका निबर्तमान अध्यक्ष दीर्घ बोगटी, महेश्वर भाट, गोविन्द पार्की, दिनेश घर्ती मगर र दीपक धामीको नाम पनि सिफारिस गरिएको छ।

एमाले डोटीले सिफारिस भएका नेताहरू संगठनमा सक्रिय, जनविश्वास हासिल गर्न सक्षम र आगामी निर्वाचनमा बलियो विकल्पका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
