डोटी-आगामी प्रतिनिधिसभा निर्वाचनले डोटी जिल्लाको राजनीतिक समीकरणलाई निर्णायक मोडमा पुर्‍याएको छ । यसपटक डोटीमा एकमात्र निर्वाचन क्षेत्रमा चार फरक राजनीतिक धार प्रतिनिधित्व गर्ने उम्मेदवारहरू मैदानमा उत्रिएसँगै चुनाव अत्यन्त प्रतिस्पर्धात्मक र बहुआयामिक बनेको छ ।

एमालेस् युवा उम्मेदवार र संगठनको शक्ति ?

नेकपा एमालेबाट उम्मेदवार बनेका दिपक धामी यो चुनावका सबैभन्दा युवा र ऊर्जाशील उम्मेदवार मानिन्छन् । अनेरास्ववियुको केन्द्रीय अध्यक्षको हैसियतले उहाँसँग बलियो संगठनात्मक अनुभव छ । ४० वर्ष मुनिका उम्मेदवार भएकाले युवापुस्ताको आशा र आकांक्षालाई प्रतिनिधित्व गर्ने दाबी उहाँको प्रमुख चुनावी एजेन्डा बनेको छ ।

एमालेको डोटीमा रहेको संगठनात्मक पकड धामीको ठूलो बल हो । तर युवापन मात्र पर्याप्त नहुने यथार्थ पनि उत्तिकै गम्भीर छ । स्थानीय विकास, रोजगारी र पूर्वाधारका विषयमा स्पष्ट र विश्वासयोग्य दृष्टिकोण प्रस्तुत गर्न सके मात्रै उहाँले पुराना अनुहारहरूलाई चुनौती दिन सक्नुहुनेछ ।

सत्ता अभ्यासको अनुभव बोकेका त्रिलोचन भट्ट ?

स्थापित दल, सत्ता सञ्चालनको अनुभव बोकेका नेता, युवा उम्मेदवार र वैकल्पिक राजनीतिका प्रतिनिधिबीचको यो भिडन्तले डोटीको मतदातालाई गम्भीर निर्णयको चरणमा पुर्‍याएको छ ।

नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले डोटी निर्वाचन क्षेत्र  बाट मनोनयन दर्ता गराउनुभएको छ । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका भट्ट डोटीको राजनीतिमा गहिरो प्रभाव राख्ने नेताका रूपमा चिनिनुहुन्छ ।

भट्ट २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्र को तर्फबाट डोटी प्रदेशसभा ‘ख’ बाट निर्वाचित हुनुभएको थियो । त्यसपछि सुदूरपश्चिम प्रदेशमा पाँच वर्षसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु उहाँको सबैभन्दा ठूलो राजनीतिक परिचय हो ।

भट्टको बलियो पक्ष भनेकै—

प्रदेश सरकार सञ्चालनको प्रत्यक्ष अनुभव

नीति निर्माणदेखि कार्यान्वयनसम्मको पहुँच

प्रदेशस्तरीय ठूला परियोजनामा संलग्नतहो । तर, त्यही सत्ता अभ्यास उहाँका लागि दुईधारे तरवार पनि बनेको छ । पाँच वर्षे मुख्यमन्त्री कार्यकालमा अपेक्षित विकास नदेखिएको, पहुँचमुखी शासन भएको र केन्द्र–प्रदेश समन्वय कमजोर भएको आरोप पनि उहाँमाथि लाग्ने गरेको छ ।

रास्वपा वैकल्पिक राजनीतिमाथिको भरोसा कति बलियो ?

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका नरेन्द्र खड्का डोटीमा नयाँ अनुहार भने होइनन् । २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिसक्नुभएको अनुभव उहाँसँग छ । अहिले रास्वपाको सुदूरपश्चिम प्रदेश उपसभापतिको जिम्मेवारी सम्हालिरहनुभएका खड्काले परम्परागत दलप्रतिको असन्तुष्टिलाई आफ्नो मुख्य राजनीतिक आधार बनाइरहनुभएको छ ।

डोटीमा वैकल्पिक शक्तिप्रति आकर्षण बढ्दो भए पनि, संगठनात्मक पहुँच र ग्रामीण तहसम्म प्रभाव कति मजबुत छ भन्ने कुरा नै खड्काको मुख्य चुनौती हो । युवा, वैदेशिक रोजगारीमा गएका परिवार र पुराना दलबाट दिक्क भएका मतदातालाई उहाँले कति एकीकृत गर्न सक्नुहुन्छ, त्यसले रास्वपाको नतिजा निर्धारण गर्नेछ ।

नेपाली कांग्रेसस् अनुभवी नेतृत्वको निरन्तरता कि थकान ?

नेपाली कांग्रेसका उम्मेदवार भरत खड्का डोटीको राजनीतिमा दशकौँदेखि चिनिएका नाम हुन् । पञ्चायतकालदेखि सक्रिय राजनीतिमा रहनुभएका उहाँको प्रशासनिक र राजनीतिक अनुभव बलियो पक्ष हो । जिल्ला विकास समिति सभापति हुँदै प्रदेशसभा सदस्यसम्मको यात्रा उहाँको प्रभावशाली राजनीतिक पृष्ठभूमि हो ।

तर यही अनुभव कांग्रेसका लागि बल पनि हो, बोझ पनि । लामो समयदेखि सत्ताको अभ्यासमा रहँदा विकासका अपेक्षाहरू पूरा नभएको आरोप कांग्रेसले खेप्दै आएको छ । भरत खड्काले आफ्नो विगतको कार्यकालमा गरेका भौतिक पूर्वाधार र विकासका कामलाई मतदातामाझ कसरी विश्वसनीय रूपमा प्रस्तुत गर्नुहुन्छ भन्ने कुराले उहाँको जित–हार निर्धारण गर्नेछ ।

निर्णायक मुद्दास् विकासको दाबी बनाम जनताको मूल्याङ्कन

यसपटक डोटीको चुनावमा उम्मेदवारहरू सबैले आ–आफ्नो कार्यकालमा गरेका भौतिक पूर्वाधार विकासका कामहरूलाई मुख्य उपलब्धि भन्दै प्रचार गरिरहेका छन् । तर मतदाता अब केवल दाबी सुन्ने अवस्थामा छैनन् । कामको प्रभाव, निरन्तरता र भविष्यको स्पष्ट योजना नै निर्णायक बन्ने संकेत देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *