डोटीको जिल्ला सदरमुकाम सिलगढीमा सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालको ३२ औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।जिल्ला समन्वय समिति डोटीको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, सामाजिक संघ–संस्था, पत्रकार तथा सेवाग्राहीहरूको सहभागिता रहेको थियो।

 

कार्यक्रमकी विशिष्ट अतिथि जिल्ला समन्वय समिति डोटीकी उपप्रमुख स्मृति चुनाराले आफू जिसस उपप्रमुख नहुँदैदेखि सिडिएफसँग परिचित रहेको बताइन्। पूर्विचौकी गाउँपालिका–७ मा सिडिएफले सहकारी तथा महिलाका आयआर्जनका क्षेत्रमा प्रभावकारी काम गरेको उल्लेख गर्दै उनले आफ्नो सामाजिक तथा नेतृत्व विकासमा समेत संस्थाको भूमिका रहेको बताइन्।त्यसतै डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी भोजबहादुर ऐडीले ३१ वर्ष पूरा गरी ३२ औँ वर्षमा प्रवेश गर्नु संस्थाले समुदायमा गरेको कामकै परिणाम भएको बताए। उनले आगामी दिनमा कार्यक्षेत्र विस्तारमा जोड दिनुपर्ने सुझाव दिए।

सिडिएफका आजीवन सदस्य तथा सायल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर डुम्रेलले एचआइभी तथा जीविकोपार्जनका क्षेत्रमा सिडिएफले पहिचान बनाउँदै राज्यले गर्नुपर्ने थुप्रै काम समाजका लागि गरेको बताए। नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले सामाजिक परीक्षण कार्यक्रम सदरमुकाम केन्द्रित नभई समुदायमै गर्न सके अझ प्रभावकारी हुने बताए। साथै अघिल्लो सामाजिक परीक्षणमा आएका सुझाव कार्यान्वयनको अवस्थाबारे जानकारी दिनुपर्नेमा उनले जोड दिए।

गैरसरकारी संस्था महासंघ डोटीकी कोषाध्यक्ष लक्ष्मी देउवा बमले शिखर नगरपालिकामा सिडिएफले गरेको पोलिहाउस टमाटर खेती र बाख्रापालन कार्यक्रम प्रभावकारी देखिएको बताइन्।कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजी सिंह खड्काले समाजमा नकारात्मक सोच बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। विकासका प्रत्यक्ष लाभ लिनेहरू नै विकास भएन भन्ने मानसिकतामा देखिएको उल्लेख गर्दै उनले भने,
“बनाइएको बाटोमै हिँडिरहेका हुन्छन्, त्यही भवनबाट सेवा लिन्छन्, तर विकास भएन भन्छन्।”उनले सकारात्मक सोच, पारदर्शिता र भएका कामको उचित प्रचार आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागीहरूले सामाजिक परीक्षण समयमै गर्नुपर्ने, मिडिया परिचालन, कार्यक्षेत्र विस्तार, सेवाग्राहीको सहभागिता र समुदायमै सामाजिक परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए।सिडिएफका अध्यक्ष खडकराज शर्माले वि.सं. २०५१ मा स्थापना भएको संस्थाले हालसम्म ५१ वटा परियोजना सञ्चालन गरिसकेको जानकारी दिए। जसमध्ये ४६ वटा सम्पन्न भइसकेका र ५ वटा परियोजना हाल सञ्चालनमा रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *