डोटी—
शिक्षाको गुणस्तर सुधार तथा सबै सरोकारवालाबीच साझा कार्ययोजना तयार गर्ने लक्ष्यका साथ शिखर नगरपालिकामा एक दिवसीय पालिकास्तरीय शैक्षिक कार्यशाला–गोष्ठी सम्पन्न भएको छ। शिखर नगरपालिकाको समन्वयमा, गुड नेवर्स इन्टरनेशनल नेपाल को आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक विकास केन्द्र डोटी द्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम अधिकृत लक्ष्मण देउवाले जानकारी दिनुभयो ।

नगरपालिकाभित्रको शैक्षिक प्रणालीमा देखिएका समस्या, चुनौती तथा सुधारका सम्भावनाबारे गहन छलफल गर्दै आगामी वर्षका लागि व्यवहारिक र कार्यान्वयनयोग्य योजना निर्माण गर्ने उद्देश्यले कार्यक्रम गरिएको डोटी क्लस्टर कोअर्डिनेटर तेजप्रसाद शर्माले बताउनुभयो।शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख भीमप्रसाद पनेरूले सहजीकरण गर्नुभएको उक्त छलफलमा विद्यालय, शिक्षक, अभिभावक, सामुदायिक संस्था र स्थानीय तहबीच सहकार्य अझै सुदृढ बनाउनु पर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सबै तहका सरोकारवालाले आफ्नो भूमिकालाई इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

 

त्यसैगरी गुड नेवर्स इन्टरनेशनल नेपाल, डोटी क्लस्टर संयोजक तेजप्रसाद शर्माले डोटी, बाजुरा, अछाम र दार्चुला जिल्लामा संस्थाले कार्यान्वयन गरिरहेका शैक्षिक कार्यक्रमका उद्देश्यबारे प्रकाश पार्दै, स्थानीय तहसँग सहकार्यमा आधारित शिक्षा सुधार योजनालाई निरन्तर समर्थन गरिरहन प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै शिखर नगरपालिका प्रमुख दिर्घ बलायरले नगरपालिकाले शिक्षा क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा लिएर अघि बढिरहेको उल्लेख गर्नुभयो। उहाँले विद्यालयमा सिकाइको वातावरण सुधार, शिक्षक क्षमता अभिवृद्धि, अभिभावक–विद्यालय साझेदारी मजबुत बनाउने र डिजिटल तथा प्राविधिक शिक्षालाई विस्तार गर्दै लैजानुपर्ने आवश्यकता जोड दिए।


“शिक्षा केवल विद्यालयको जिम्मेवारी मात्र होइन, यो सम्पूर्ण समुदायको साझा उत्तरदायित्व हो। शिखर नगरपालिकाले ‘गुणस्तरीय शिक्षा—हम्रो प्रतिबद्धता’ भन्ने लक्ष्य लिएर अघि बढेको छ। आजको कार्यशालाबाट प्राप्त सुझाव र टिप्पणीहरूलाई आगामी वर्षको योजनामा समावेश गरी ठोस परिणाम देखिने गरी काम गर्छौँ।”उहाले बताउनु भयो ।

उहाँले गुड नेवर्स इन्टरनेशनल नेपाल लगाएत अन्य गैर सरकारी संस्थाह?लाई लामो समयदेखि शिक्षा क्षेत्रमा सहयोग पुर्याउँदै आएको भन्दै योगदानका लागि आभार व्यक्त गर्नु भयो । साझेदार संस्थासँग हातेमालो गर्दै शैक्षिक सुधारलाई अझ प्रणालीगत रूपमा अघि बढाइने बताउनुभयो।
कार्यक्रममा नगर प्रमुख दिर्घ बहादुर बलायर,उप प्रमुख सुनिता रावल,निमिक्त प्रमुख प्रशासकीय अधिकृत,बिषयगत शाखाका प्रमुख, वडा का वडा अध्यक्ष,स्रोत बिधालय का प्रध्यानाध्यापक, विध्यालय ब्याबस्थापन समिति अध्यक्ष, अभिभाबक र बालकलबकाहरु को सक्रिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *