भदौ ८ डोटी । आदर्श गाउँपालिका–६ र ७ लाई जोड्ने साइलिगाडमा बहुप्रतिक्षित पक्की पुल बन्ने भएपछि स्थानीयवासी उत्साहित भएका छन्।
बर्खायाममा खोला बढ्दा बाटो अवरुद्ध हुने र विद्यालय जाने विद्यार्थीदेखि बिरामी अस्पताल पुर्याउनेसम्ममा ठूलो सास्ती खेप्नु परेको अवस्थालाई अब पुलले अन्त्य गर्नेछ। कृषिजन्य उत्पादन बजार पुर्याउन पनि सहज हुने भएकाले स्थानीयको दैनिकीमा ठूलो सहजता आउने अपेक्षा गरिएको छ।
हाल पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सुरु भएको आदर्श गाउँपालिकाले जनाएको छ। डिपिआर तयारीमा खटिएका सब–ओभरसियर कृष्ण दाहालले प्राविधिक अध्ययन भइरहेको जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष गणेश खड्काले साइलिगाडमा पक्की पुल निर्माणलाई पालिकाका ठूला योजना मध्ये एक प्राथमिकतामा राखिएको बताए। उनले गाउँपालिकाबाट डिपिआरका लागि रकम छुट्याइएको र प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेको जानकारी दिँदै अपुग रकम प्रदेश सरकारसँग बहुवर्षीय योजनाको रुपमा अगाडि सार्नका लागि सबै सरोकारवाला संग समन्वय गर्ने बताउनु भयो। स्थानीय, राजनिति दल, लगायत सबैलाइ यो योजनाका लागि सकारात्मक रुपले लिइदिन समेत आग्रह गर्नु भएको छ ।
“आफ्नो कार्यकालमै पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ। प्राविधिक अध्ययनपछि हालको ठाउँ भन्दा करिब पाँच सय मिटर तल वा माथि उपयुक्त स्थान छानेर पुल निर्माण गरिनेछ,” अध्यक्ष खड्काले बताए।
पुल बनेपछि गाउँपालिका–६ र ७ बीचको आवतजावत मात्र सहज हुने छैन, शिक्षा, स्वास्थ्य सेवा र आर्थिक गतिविधिमा समेत ठूलो फड्को मारिने अपेक्षा गरिएको छ।