डोटी, भदौ ७
दिल्पेश्वर स्पोर्ट्स क्लब डोटीले असोज ६ गतेदेखि १२ गतेसम्म तेस्रो संस्करणको ‘दिल्पेश्वर क्रिकेट लिग (डीसीएल–३)’ तथा सांस्कृतिक मेला दिपायलमा आयोजना गर्ने भएको छ ।
शनिवार दिपायलमा पत्रकार सम्मेलन गर्दै क्लबका प्रवक्ता रामभक्त सुनारले प्रतियोगितामा डोटीका ६ जना खेलाडी अनिवार्य हुने, बाहिरका ५ खेलाडी र दुई जना विदेशी खेलाडीसमेत सहभागी हुन पाउने जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ट्रफी, मेडलसहित रु. १,११,१११ पाउनेछ भने द्वितीय पुरस्कार रु. ५१,१११ रहनेछ । म्यान अफ द म्याच, वेस्ट बलर, वेस्ट ब्याट्सम्यान, म्यान अफ द सिरिज लगायतका उपाधिका लागि पनि पुरस्कार राखिएको छ ।
प्रतियोगिता पहिलो चरणमा नकआउट र दोस्रो चरणमा लिग प्रणालीमार्फत खेलाइनेछ । टिम दर्ता शुल्क रु. ७,००० तोकिएको छ र असोज ३ गतेभित्र दर्ता गर्नुपर्नेछ ।दिपायल–सिलगढी नगरपालिका–३ मठस्थित दिल्पेश्वर खेल मैदानमा हुने प्रतियोगितामा २५ देखि ३० टिम सहभागी हुने अनुमान गरिएको छ । आयोजनाका लागि करिब रु. ५.५ लाख खर्च हुने क्लबले जनाएको छ ।