काठमाडौँ । नाइके भनेर चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङ सहित १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासनले अनुमति दिएको छ ।
गएराति महाराजगञ्जको एक होटलबाट चक्रे मिलनको जन्मदिन मनाइरहेका बेला प्रहरीले ४७ जना पक्राउ गरेकोमा २८ जनालाई छाडेको छ । बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो ।
पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरूको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ ।काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार, म्याद थप भएसँगै चक्रे मिलनसहित गणेश शहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्कालाई हिरासतमा राखेर अनुसन्धान हुनेछ ।
त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही पनि हिरासतमा रहनेछन् ।मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको थियो ।
