“मैले कहिलेसम्म विदेश जानुपर्ने सरकार ” – यो प्रश्न आज लाखौँ नेपाली युवाको छातीबाट निस्किएको चिच्याहट हो। नेपालका गाउँघरका बाटो, चिया पसल, र परिवारबीचका कुराकानीमा यो पीडा बारम्बार गुञ्जिन्छ। किन आज पनि नेपाली युवा हजारौँ माइल टाढा जान बाध्य छन् रोजगारीका लागि कि आफ्नै देशमा अवसर नपाएको पीडाले युवाहरु आफ्ना सबै सपनाको सिकार गर्दैछन् ।
वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरूको संख्या लगातार बढ्दो क्रममा छ। गाउँ–गाउँका युवाहरूको सपना अब सेना वा शिक्षक बन्ने होइन, कतार, मलेसिया, दुबई वा साउदी पुग्ने भएको छ। विडम्बना त के छ भने यो विदेश यात्रा रोजगारीका नाममा सुरु हुन्छ, तर एक किसिमको बाध्यता बनेर टुंगिन्छ।
नेपालमा वैदेशिक रोजगारीका लागि प्रक्रिया थाल्नुअघि नै श्रमिकहरू अनेकन समस्यामा फस्छन्। कतिपय मेनपावर कम्पनीहरूले झूठो सूचना दिएर ठगी गर्छन्। फ्री भिसा, फ्री टिकट भनिए पनि अन्तिममा श्रमिकले लाखौँ रुपैयाँ खर्च गर्नुपर्छ। सरकारी पोर्टलहरूमा प्रक्रिया स्पष्ट छैन, सूचना अद्यावधिक हुँदैन, दलालहरूले नै सेवा दिने अवस्था अझै कायम छ। अनलाइन प्रक्रियाको पहुँच नभएका ग्रामीण युवाहरू दलालको भर पर्ने बाध्यता अझै हटेको छैन।
विदेश पुगेपछि पनि नेपालीहरू शोषणमा पर्छन्। बिचौलियाले भनेको काम र कम्पनी नपाउँदा, श्रम सम्झौताभन्दा फरक काम लगाइन्छ। कतिपय श्रमिकहरूले त महिनौँसम्म तलब नपाउने, अत्यधिक काम गराउने, बिरामी हुँदा उपचार नपाउने जस्ता अवस्था सहनुपरेको छ। कानुनी सहायता नपाईने, दूतावाससँग सम्पर्क गर्न कठिन हुने अवस्था पनि सामान्यजस्तै बनिसकेको छ।
नेपालमा शिक्षा लिने युवालाई योग्यता अनुसारको जागिर छैन। कृषि क्षेत्रलाई व्यवस्थित बनाउन न सरकारी लगानी छ, न व्यवसायीको आकर्षण। उद्योग छैन, स्वरोजगार कार्यक्रमहरू सशक्त छैनन्। सरकारले ल्याएका केही योजनाहरू कागजमै सीमित छन्, कार्यान्वयन कमजोर छ। यसैले युवा विदेश जाने विकल्प रोजीरहेका छन् ।
देशको माटोमा पसिना बगाउने सपना बोकेका युवाहरू विदेशको तातो मरुभूमिमा आँसु बगाइरहेका छन्। हाम्रा नीतिहरूले युवा सम्हाल्न सकेनन् भने ुरोजगारीको लागि विदेश जानुु हाम्रो नियति नै बन्न सक्छ। अब पनि ढिला नगरी ठोस कदम चाल्न सकिएन भने, “मैले कहिलेसम्म विदेश जानुपर्ने सरकार अ” भन्ने प्रश्न झन् चर्को हुँदै जानेछ। अबत केहि सोच सरकार ?
