काठमाडौं, साउन १४ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आजदेखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशनमा बसेका छन्।

नगरप्रमुख भट्टराईले संघीय सरकारसमक्ष सातबुँदे माग राख्दै चरणबद्ध आन्दोलनको कार्यक्रमअनुसार साउन ११ गतेदेखि सत्याग्रह सुरु गरेका थिए। सरकारको बेवास्ता र उदासीनताका कारण आफू आमरण अनशनमा बस्न बाध्य भएको उनले जनाएका छन्।

कार्यवाहक नगरप्रमुख विशन राईले मंगलबार विज्ञप्ति जारी गर्दै भट्टराईको आमरण अनशन सुरु भएको जानकारी दिएका हुन्।


स्थानीय उत्पादन र बाँसजन्य उद्योगको प्रवर्द्धन माग

नगरप्रमुख भट्टराईले बाँस, कोदो र घरेलु स्रोतबाट उत्पादन हुने वस्तुको प्रवर्द्धन, बाँदर नियन्त्रण, भ्रष्टाचार रोकथाम लगायतका सातबुँदे माग राखेका छन्। उनले स्थानीय कच्चा पदार्थलाई प्राथमिकता दिई उद्योग स्थापना गर्न नीतिगत व्यवस्था आवश्यक भएको बताएका छन्।

उनले भने, “खेर गइरहेका बाँसको सदुपयोग, स्थानीयस्तरमा रोजगारी सिर्जना र आत्मनिर्भर समाज निर्माणका लागि नीति आवश्यक छ। तर संघीय सरकार मौन छ।”


प्रधानमन्त्रीलाई ज्ञापनपत्र, राष्ट्रपतिको सम्मानमा बाँसका सामग्री

नगरप्रमुख भट्टराईले जेठ २३ र असार ६ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइसकेका थिए। यद्यपि सरकारबाट कुनै ठोस प्रतिक्रिया नआएको उनको गुनासो छ।

काठमाडौंमा सत्याग्रहकै क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश र सभामुख देवराज घिमिरेलाई दिक्तेलबाट लगिएको बाँसको कुर्सी र टेबल उपहारस्वरूप प्रदान गरेका थिए।


वार्ताका लागि सरकारी पहल, तर माग अझै अपूरा

नगरप्रमुखको आन्दोलनपछि वन तथा वातावरण मन्त्रालयले साउन ८ गते वार्ताको लागि पत्र पठाएको थियो। साउन ९ गते मन्त्री ऐनबहादुर शाही र नगरप्रमुख भट्टराईबीच पहिलो चरणको छलफल भएको थियो।

त्यसपछि नगर कार्यपालिकाको बैठकले कार्यवाहक नगरप्रमुख राईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। टोली हाल काठमाडौंमै छ र माग पुरा नभएसम्म आन्दोलन जारी राखिने बताइएको छ।


प्रकृति संरक्षण र सुशासनको नारासहित आन्दोलन

नगरप्रमुख भट्टराईले ‘पैसा छैन, नीति देऊ’, ‘प्रकृतिको विनाश होइन, संरक्षण गरौँ’, ‘जलवायु परिवर्तनको असर नियन्त्रण गरौँ’ जस्ता नारा लेखिएका प्लेकार्डसहित सत्याग्रह गरिरहेका छन्। उनले पशुपतिनाथ मन्दिरमा कपाल मुण्डन गरेर सत्याग्रह सुरु गरेका थिए।

उनको आन्दोलनलाई विभिन्न दलका नेताहरू, सामाजिक अभियन्ताहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समर्थन जनाएका छन्।


© आवाजनेपाल डट कम | समाचार डेस्क

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *