डोटीको सिलगढीस्थित प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरमा साउन महिनासँगै भक्तजनको भीड बढ्दै गएको छ। नेपाल र भारतका श्रद्धालु भक्तजनहरु पूजापाठ, भजन–कीर्तन र दर्शनमा सहभागी भइरहेका छन्।

 

भारतको पलियाका श्रीकुल उपासक गोविन्द माधव मिश्रले सात दिने नित्य पूजा, रुद्री पाठ, हवन र भण्डारा आयोजना गरेपछि मन्दिर परिसरमा चहलपहल थपिएको छ। मिश्रका अनुसार, “सन २०१३ मा पहिलो पटक शैलेश्वरी दर्शन गरेको थिएँ। यसपटक सात दिनसम्म पूजा, कीर्तन, हवन र भण्डारा सञ्चालन हुनेछ, जहाँ हजारौं भारतीय भक्तजनले दर्शन गर्नेछन्।”

 

भारतबाट आएका पत्रकारहरुले पनि शैलेश्वरी मन्दिरको प्रचार–प्रसारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। भारतीय पत्रकार धिरज कुमार गुप्ताले “शैलेश्वरी लगायतका धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारका लागि नेपाल र भारतका पत्रकारहरुले संयुक्त रूपमा काम गर्नुपर्छ,” भन्दै सहयोगको आवश्यकता औंल्याए।

 

शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले मिश्रको टोलीलाई धन्यवाद दिँदै, आगामी डेढ वर्षपछि यहाँ आयोजना हुने कोटीहोम महायज्ञको तयारीमा भारतमा मन्दिरको प्रचारमा सहयोग गर्न आग्रह गरेका छन्।

 

नेपाल–भारतबीचको धार्मिक सम्बन्धलाई मजबुत बनाउँदै शैलेश्वरी मन्दिर भक्तजन र पर्यटक दुवैका लागि आस्था र आकर्षणको केन्द्र बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *