डोटीको सिखर नगरपालिका–२ कालागाडमा तीन दिने व्यवसायिक गाई–भैंसी पालन तालिम सुरु भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीको आयोजना तथा सिखर नगरपालिका पशु सेवा शाखाको सहयोगमा तालिम सञ्चालन गरिएको हो। तालिममा सिखर नगरपालिकाका ११ वटै वडाबाट ३५ जना महिला तथा पुरुष कृषक सहभागी रहेका छन्।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोरा ले सिखर नगरपालिका जिल्लामै सबैभन्दा बढी भैंसी पालन हुने पालिका रहेको बताउँदै यहाँ व्यवसायिक पशुपालनको राम्रो सम्भावना रहेको बताउनुभयो। उहाँले आधुनिक प्रविधिसहित पशुपालन व्यवसायलाई विस्तार गर्न सके कृषकको आर्थिक अवस्था सुधार हुने धारणा व्यक्त गर्नुभयो।त्यस्तै, सिखर नगरपालिका–२ का वडा अध्यक्ष गणेश बोगटीले आफ्नै वडामा कृषकमुखी कार्यक्रम सञ्चालन गरिएकोमा आयोजक लाइ धन्यवाद दिनुभयो।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीका कार्यालय प्रमुख खडक कठायत का अनुसार तालिमको मुख्य उद्देश्य कृषकलाई आधुनिक गाई–भैंसी पालन सम्बन्धी ज्ञान र सीप प्रदान गर्नु, दूध उत्पादन वृद्धि गरी आयआर्जन बढाउनु तथा बेरोजगारी न्यूनीकरण गर्दै स्वरोजगार सिर्जना गर्नु रहेको छ।
उहाँका अनुसार तालिममार्फत पशु स्वास्थ्य, खोर व्यवस्थापन, आहार व्यवस्थापन तथा रोग नियन्त्रण सम्बन्धी जानकारी प्रदान गरिनेछ। साथै व्यवसायिक पशुपालनतर्फ कृषकलाई आकर्षित गर्दै स्थानीय स्तरमा दुग्ध उत्पादन र पोषण सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यालयका सूचना अधिकारी हेमराज भट्टले यस्ता तालिमले कृषकलाई परम्परागत पशुपालनबाट वैज्ञानिक तथा व्यवसायिक पशुपालनतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *