डोटीमा पछिल्लो समय पेट्रोलियम पदार्थको चरम अभाव देखिएको छ। पेट्रोल पम्पमा लामो लाइनमा बसेर पनि पेट्रोल नपाउने अवस्था छ भने, खुद्रा पसलहरूमा भने बोतलमा दोब्बर मूल्यमा पेट्रोल बिक्री भइरहेको स्थानीयहरूले गुनासो गरेका छन्।
इन्धन आपूर्तिमा देखिएको यस अनियमितता र कालोबजारीविरुद्ध ‘बोलन्या थली’ नामक स्थानीय संस्थाले धनगढीमा चेतावनीमूलक ब्यानर टाँसेर विरोध प्रदर्शन गरेको छ।
ब्यानरमा लेखिएको छ —
“दीपायल–सिलगढी जाँदै हुनुहुन्छ भने पेट्रोल जुगाड गरेर जानुहोला है, त्यहाँ मोटायका पम्प र म्यानेजमेन्टका कारण पेट्रोल ब्ल्याकमै मात्र पाइन्छ।”
स्थानीयका अनुसार, डोटीका अधिकांश पेट्रोल पम्पहरूले आपूर्तिको अभाव देखाउँदै पेट्रोल वितरण सीमित मात्रामा गर्दै आएका छन्। कतिपय सवारी चालकहरू घण्टौँ लामो लाइनमा बसेर पनि पेट्रोल नपाउने गरेका छन्।
त्यसैबीच, केही खुद्रा पसलहरूमा बोतलमै पेट्रोल सहजै पाइने भए पनि २५–३० प्रतिशत बढी मूल्य तिर्नुपरेको गुनासो बढ्दो छ।
बोलन्या थलीले विरोधस्वरूप ब्यानर टाँसेपछि डोटेली युवाहरूले सामाजिक सञ्जालमा उक्त फोटो पोस्ट गर्दै प्रशासनको ध्यानाकर्षण गराएका छन्। उनीहरूले पेट्रोल आपूर्तिमा देखिएको गम्भीर अनियमितता तत्काल अन्त्य गर्न र कालोबजारीमा संलग्नहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।
पत्रकार रामहरि ओझाले सामाजिक सञ्जालमा लेखेका छन् —
“यो डोटीका लागि नौलो विषय होइन। पटक–पटक समाचारमा, सरोकारवालासँगको बैठकमा र प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा यो मुद्दा उठिसकेको हो। तर सम्बन्धित निकाय सधैं मौन रह्यो। कैलालीको खानिडाँडा, डडेल्धुराको स्याउले, तुफानडाँडा, पोखरा र बुडरलगायत ठाउँमा पनि बोतलमै पेट्रोल बेचिन्छ, तर त्यसतर्फ कसैको ध्यान छैन। केवल डोटीलाई मात्र लक्ष्य बनाइएको देखिन्छ।”
उनले थपे —
“यो बेलाबेलामा डोटीमाथि भइरहने प्रहारको निरन्तरता हो। प्रशासनले अब भने यसलाई गम्भीरताका साथ हेर्नुपर्छ।”
यस विषयमा स्थानीय प्रशासनले भने पेट्रोल आपूर्तिमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायसँग छलफल भए नभएको कुनै प्रतिकृया दिइको छैन ।
डोटी र आसपासका जिल्लामा इन्धन आपूर्ति धनगढी डिपोबाट हुने भएकाले सडक अवरोध वा ढुवानी ढिलाइ हुँदा तत्काल प्रभाव देखिने गरेको स्थानीय व्यापारीहरूको भनाइ छ। नजिकिँदो चाडपर्वको समयमा इन्धन अभावले जनजीवन झनै कष्टकर बनेको छ।