डोटी जिल्ला शिखर नगरपालिका–११ मल्लीसातमा जन्मिएका गणेशबहादुर रावलले निरन्तर परिश्रम र आमाको अदम्य संघर्षका बलमा भुइँमान्छेबाट विद्यालय निरीक्षकसम्मको प्रेरणादायी यात्रा पूरा गरेका छन्।

२०५४ सालमा जन्मिएका रावल दुई वर्षकै उमेरमा पिताविहीन भए। रोजगारीका लागि भारतमा रहेका उनका पिता असामयिक निधन भएपछि परिवारको जिम्मा आमामाथि आयो। अरूको खेतमा मजदुरी, घरधन्दा र आफ्नै बारीको खेती गर्दै आमाले छोराको पढाइमा कहिल्यै बाधा आउन दिइनन्।

रावलले गाउँमै प्रारम्भिक शिक्षा सकेर लामिखाल माविबाट एसएलसी, उच्चाकोट माविबाट कक्षा १२ र डोटी क्याम्पसबाट बीएड पूरा गरे। पढाइसँगै बोर्डिङ स्कुलमा श्रम गर्दै आमालाई आर्थिक सहारा पुर्‍याए। २०७३ सालमा अस्थायी करार शिक्षकको रूपमा पेशागत यात्रा सुरु गरेका उनले २०७६ मा स्थायी शिक्षकको पद पाए।

पढाइ र मिहिनेतमा अडिग रहेर २०७९ मा कर्णाली प्रदेशको पाँचौं तह प्राविधिक सहायकमा, २०८१ मा सातौं तहको शिक्षा अधिकृतमा र २०८२ सालमा खुला प्रतिस्पर्धाबाट विद्यालय निरीक्षकमा सिफारिस भए। अब उनी देशभरका विद्यालयको गुणस्तर अनुगमन गर्ने जिम्मेवारीमा छन्।

रावल भन्छन्, “मेरो साथमा शक्तिशाली हात थिएन, आमा र मिहिनेत मात्रै थिए। त्यसैले म आज यो उचाइमा छु।” उनका अनुसार शिक्षा केवल प्रमाणपत्र होइन, जीवन परिवर्तन गर्ने हतियार हो।

गणेशबहादुर रावलको कथा केवल व्यक्तिगत सफलता मात्र होइन, हजारौं नेपाली युवाका लागि प्रेरणाको स्रोत हो— ईमानदारी, लक्ष्य र दृढ परिश्रमले भुइँबाट पनि आकाश छुने सपना सम्भव हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *