नेपाल जन्मेको देश हो, तर जिन्दगी चलाउन परदेश जानुपर्ने बाध्यता बनिसक्यो। यस्तो भनाइ यतिबेला लाखौं नेपाली युवाको मनभित्रको पीडा हो। पछिल्लो तथ्यांक हेर्दा दैनिक झन्डै हजारौ नेपाली श्रमिक विदेशिई रहेका छन्। तर यो पलायन केवल रोजगारी खोजी मात्र होइन, यो निराशा, असन्तोष र राजनीतिक विघटनको गहिरो संकेत पनि हो।
राजनीतिक अस्थिरतास्मूल जरो
२०४६ सालको प्रजातन्त्र पुनःस्थापनादेखि गणतन्त्रसम्म आइपुग्दा नेपालले विकासभन्दा बढी प्रधानमन्त्रीहरू फेर्यो। सत्तामा आउनेहरू जनताको सेवा होइन, गुट, भागबण्डा र व्यक्तिगत लाभमा केन्द्रित देखिन्छन्। पछिल्लो १० वर्षमा दर्जनै सरकार फेर्नु भनेको राजनीतिक अस्थिरता चरममा पुगेको प्रमाण हो।
युवा भन्छन् – “हामी आन्दोलनमा लाग्यौं, संविधान बनायौं, तर अवसर र भविष्य त नेताहरूको मात्र बन्यो।”
बेरोजगारी र शिक्षा प्रणालीको विचलन
नेपालमा प्रति वर्ष करिब ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन्, तर त्यसभित्र रोजगारी सिर्जना १०५ भन्दा पनि कम छ। विश्वविद्यालयहरूबाट बर्सेनि हजारौं विद्यार्थी स्नातक बनिरहेका छन्, तर ती डिग्रीहरूले व्यावसायिक अवसर खोल्दैनन्।
लगानी वातावरणको चरम विफलता
नेपाल लगानी गर्न उपयुक्त देश हो भन्ने चर्चा दशकौं भयो, तर न त स्थिर नीति छ, न लगानीको सुरक्षाको ग्यारेन्टी। विदेशी लगानीकर्तामात्र हैन, आफ्नै युवाहरूले व्यवसाय गर्न डर मान्न थालेका छन्। बैंक ऋण प्रक्रिया कठिन, सरकारी निकायहरूमा सेवाको सट्टा सिफारिस चाहिने अवस्था अझै कायमै छ।
वैदेशिक रोजगारी बाध्यता कि अवसर
गाउँका अधिकांश घरमा युवा छैनन्। कतार, मलेशिया, साउदी अरबमा पसिना बगाइरहेका छन्। तिनले कमाएको पैसाले नेपालको ग्रामीण अर्थतन्त्र केही हदसम्म चलेको छ। तर, श्रम बेचेर मात्र देश समृद्ध बन्दैन, न त विदेशमा बाँचिरहेको नेपालीलाई सुरक्षित भविष्य सुनिश्चित छ।
के हो त समाधानको खोजी
विकल्प छैन भन्ने सोच हटाउन अब समय आएको छ।
शिक्षा प्रणालीलाई सीपमूलक बनाउनु पर्छ।
स्थानीय तहमा रोजगारी सिर्जनाका कार्यक्रम प्रभावकारी रूपमा लागू हुनुपर्छ।
नीति निर्माणमा युवाको सहभागिता अनिवार्य बनाइनुपर्छ।
आन्तरिक लगानी र उद्यमशीलतालाई प्राथमिकता दिइनुपर्छ।
जबसम्म राजनीतिक इच्छाशक्ति मजबुत बनाइँदैन, तबसम्म युवाको भविष्य विदेशको एयरपोर्टमा लाइन लागिरहनेछ।
देश भित्र सम्भावना धेरै छ, तर नेतृत्व अडिएको छ। युवा जति जागरूक हुन्छन्, देश त्यति अगाडि बढ्छ।