डोटी, साउन १० – डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ मा अवस्थित बग्लेक क्षेत्र हाल ‘मिनी खप्तड’ का रूपमा लोकप्रिय बन्दै गएको छ। हरियाली डाँडा, मनोरम दृश्य, धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रमा पछिल्ला दिनमा आन्तरिक पर्यटकहरूको आकर्षण उल्लेख्यरूपमा बढेको छ।

 

खप्तड जाने पर्यटकहरूका लागि सहज गन्तव्य

बग्लेक क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जसँग भौगोलिक रूपमा नजिक पर्छ। यस कारण खप्तड यात्रा गर्ने पर्यटकहरूका लागि बग्लेक एक अतिरिक्त तथा सहज गन्तव्यको रूपमा विकास गर्न सकिने ठोस सम्भावना देखिएको छ। खप्तडको लामो दूरीको यात्रा गर्न कठिन हुनेहरूको लागि बग्लेक छोटो दूरीमै खप्तडजस्तै अनुभूति दिने गन्तव्य बन्दै गएको छ।

स्थानीय खडक साउँद भन्छन्, “यदि सरकार र स्थानीय तह मिलेर योजनाबद्ध रूपमा प्रवर्द्धन गर्न सके, बग्लेक खप्तड यात्राको वैकल्पिक मार्ग मात्र नभई, छुट्टै पहिचान बनाउने स्थान हुन सक्छ।”

विकासका लागि प्राथमिकता दिइनुपर्ने क्षेत्र

विशेषज्ञहरूका अनुसार बग्लेकको दिगो विकासका लागि निम्न कुराहरूमा प्राथमिकता दिन जरुरी छ

बग्लेकसम्म सहज पहुँच हुने सडक विस्तार भएपनि पर्यटन पूर्वाधार सूचना केन्द्र, विश्रामगृह, शौचालय, पानी सुविधा निर्माण
स्थानिय गाइड, होमस्टे सेवा प्रदायक र पर्यटन व्यवसायीका लागि तालिम संचालन गर्नुपर्ने
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण
बग्लेक र खप्तड क्षेत्रलाई समेटेर पर्यटन सर्किटको विकासका योजना बनाईनु पर्ने देखिन्छ् ।

विकासका लागि सरकारको भूमिकाः तीनै तहको सहकार्य अपरिहार्य

बग्लेक क्षेत्रको समुचित विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

स्थानीय सरकारले मास्टर प्लान निर्माण, आधारभूत पूर्वाधार, होमस्टे प्रवर्द्धन र जनशक्तिको तालिममा ध्यान दिनुपर्ने देखिन्छ।

प्रदेश सरकारले पर्यटकीय सर्किट विकास, बजेट विनियोजन, पदमार्ग तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने आवश्यकता छ।

संघीय सरकारबाट बग्लेकलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र नीति अगाडी सारेमा

सांस्कृतिक संरक्षण र आर्थिक लाभको समन्वय

बग्लेकको विकासले केवल पर्यटन प्रवर्द्धन मात्र होइन, स्थानीय समुदायको आर्थिक समृद्धि, रोजगारी सिर्जना, तथा सांस्कृतिक पहिचानको संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनेछ। होमस्टे, कृषि पर्यटन, धार्मिक भ्रमण र हस्तकलाको प्रवर्द्धनमार्फत स्थानीय युवाहरू रोजगारीमा जोडिन सक्नेछन्।

‘मिनी खप्तड’ को उपनामले चिनिँदै गएको बग्लेक क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सकिएमा डोटी जिल्लाको समग्र पर्यटन क्षेत्रको प्रवर्द्धन मात्र नभई, खप्तड जाने पर्यटकहरूलाई समेत सहज र समृद्ध अनुभव प्रदान गर्न सकिनेछ। यसका लागि स्थानीय तह, प्रदेश सरकार र पर्यटन व्यवसायीबीच सहकार्य अपरिहार्य देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *