साउन ८ – नेपालको राजनीति अझै पनि उही पुराना अनुहारहरूकै वरिपरि घुमिरहेको छ। लोकतन्त्र स्थापनाको दशकौं बितिसक्दासमेत मुलुकको राजनीतिमा नयाँ पुस्तालाई नेतृत्व सुम्पनुपर्ने बहस जारी छ। तर दलका शीर्ष नेताहरू भने नेतृत्व हस्तान्तरणप्रति उत्साहित देखिँदैनन्।
नेपालको प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा नेतृत्व आज पनि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डकै हातमा छ। यी तीन नेताको औसत उमेर ७० वर्षभन्दा माथि छ, र उनीहरू विगत तीन दशकदेखि मुलुकको नेतृत्व तहमा सक्रिय छन्।
यता दलभित्रकै युवा पुस्ताले भने नेतृत्वको साँचो अब नयाँ हातमा जानुपर्ने आवाज उठाइरहेका छन्। तर अनुभव र परिपक्वताको नाममा उनीहरूलाई पछाडि पार्ने प्रवृत्ति कायमै छ।
युवा पुस्ता पछाडि, अनुहार उही
नेपाली कांग्रेसका नेता गगन थापा, विश्वप्रकाश शर्मा, एमालेका योगेश भट्टराई,गोकर्ण विष्ट, माओवादी केन्द्रका सुदन किराती, जनार्दन शर्मा, युवा पुस्ताको प्रतिनिधि मानिन्छन्। तर यिनलाई पार्टीभित्र निर्णायक तहमा पुर्याउने भन्दा ‘अवसरको प्रतीक्षा गर’ भन्ने सन्देश मात्र दिइन्छ।
नेता गगन थापाले पटक–पटक नेतृत्वको पुस्तान्तरणको माग उठाउँदै आएका छन्। उनले १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिए पनि संस्थागत संरचना र गुटीय राजनीति कारण उनी पराजित भए।
अनुभव र एकल निर्णयशैलीबीचको द्वन्द्व
पुराना नेताहरू नेतृत्व हस्तान्तरण गर्न हिचकिचाउनुका पछाडि अनुभव र परिपक्वताको तर्क दिने गर्छन्। नेकपा एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा भनेका थिए, “राजनीति भावना र जोशले मात्र चल्दैन, निर्णयको जिम्मेवारी लिन सक्ने परिपक्वता चाहिन्छ।”तर विश्लेषकहरू भन्छन्, यो तर्क भन्दा पनि सत्ताको स्वाद र गुटीय नियन्त्रण गुम्ने डर मुख्य कारण हो। उनीहरूको भनाइमा अहिलेको संरचना व्यक्तिकेन्द्रित र वफादार अनुयायीहरूको भरमा चल्ने प्रवृत्तिमा केन्द्रित छ।
तथ्य बोल्छ युवाको सहभागिता
२०८० सालको निर्वाचनमा ४० वर्षमुनिका उम्मेदवारहरूको संख्या १० प्रतिशतभन्दा कम रहेको छ। दलभित्र पदाधिकारी छनोटमा समेत युवा सहभागिता न्यून छ। एउटै व्यक्ति १५–२० वर्षदेखि एउटै पदमा रहे पनि नयाँ अनुहारका लागि कोटाको व्यवस्था छैन।
एक राजनीतिक विश्लेषक भन्छन्, “दलभित्र आन्तरिक लोकतन्त्र छ भने नेतृत्वमा घुमाउरो होस् भन्ने अपेक्षा जनताको मात्र होइन, कार्यकर्ताको पनि हो।”
जनसंख्याको बहुमत युवा, तर नेतृत्व वृद्ध
नेपालको कुल जनसंख्याको ५५ प्रतिशतभन्दा बढी ३० वर्षमुनिका छन्। तर सरकार, संसद् र दलका नेतृत्व तहमा ती युवाको उपस्थिति न्यून छ। जनसंख्यागत संरचना र राजनीतिक नेतृत्वबीचको यो अन्तर एक असमान सन्तुलनको संकेत हो।
राजनीतिक स्थायित्व, दिगो विकास र जनताप्रति जवाफदेहिताको सुनिश्चितताका लागि दलहरूले समयमै नेतृत्व पुस्तान्तरण गर्नुपर्ने दबाब बढ्दो छ। नेतृत्वमा नवीन विचार, आधुनिक सोच, प्रविधिमैत्री दृष्टिकोण र समावेशी कार्यशैली ल्याउन सक्ने युवा पुस्तालाई अगाडि ल्याउने बेला आएको विश्लेषकहरूको भनाइ छ।तर पुराना नेताहरू अझै पनि ‘विकल्प छैन’ भन्ने धारणा दोहोर्याइरहँदा युवाहरू भने ‘अब निरीक्षक होइन, निर्णयकर्ता बन्ने समय आएको’ भन्दै आक्रोशित देखिन्छन्।
