डोटी, २९ असार

डोटी जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय बासिन्दा बर्खायाम सुरु भएसँगै दूषित र धमिलो पानी पिउन बाध्य भएका छन्। बजार क्षेत्रका अधिकांश घरमा पाइपबाट आउने पानी धमिलो देखिने गरेको गुनासो उपभोक्ताहरूको छ।

स्थानीय बिरेन्द्र ओलीका अनुसार, “पिउने पानी भनेर भाँडामा भर्दा केही समयमै कालो माटो थिग्रिने गर्छ। पानीको तल्लो भागमा फोहोर र माटो जमेको देखिन्छ।” उनका अनुसार यो अवस्था केही हप्ता यता निरन्तर भइरहेको छ।

केही घरमा पानी आए पनि त्यो दूषित हुने र कतिपय घरमा त खानेपानी नै नआउने समस्या रहेको स्थानीयहरूले बताएका छन्।

स्वास्थ्यकर्मीहरूले दूषित पानी सेवनका कारण स्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्। थापा क्लिनिकका सञ्चालक नवराज थापाले भने, “फोहर पानीका कारण झाडापखाला, हैजा, स्किन एलर्जी जस्ता रोग फैलिने सम्भावना उच्च हुन्छ। त्यसैले पानी प्रयोग गर्नु अघि उमाल्ने, छान्ने वा प्रशोधन गर्ने विधि अपनाउन आवश्यक छ।”

यस सन्दर्भमा सिलगढी खानेपानी उपभोक्ता समिति अध्यक्ष जगत खड्काले बर्खायाममा मुहानबाट पात र माटो बगेर आउने भएकाले पानी धमिलो देखिने गरेको स्वीकार गर्नुभयो। उहाँले भने, “पानी शुद्ध पार्न ‘ट्रीटमेन्ट प्लान्ट’ निर्माण गर्न आवश्यक छ तर आर्थिक अभावका कारण तत्काल सम्भव छैन। यथाशीघ्र समाधानका लागि पहल भइरहेको छ।”

हालको पानी यद्यपि देख्नमा धमिलो भए पनि त्यसमा हानिकारक तत्व नरहेको दाबी अध्यक्ष खड्काले गर्नुभयो। तर उपभोक्ताहरू भने यसमा ढुक्क हुन सकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *