देशभर दशैं र तिहारको तयारीले गाउँघरदेखि सहर बजार रंगिन भैरहेको छ। घरको आँगनमा रोटे पिङ, बजारमा नयाँ कपडाको भीड, घरघरमा मासु, मिठाई र फूलमाला किनमेलको रौनक छ। आफ्ना दाजुभाइ, दिदीबहिनीलाई टीका र जमरा राख्ने तयारीमा नेपाली आँगन उज्यालो हुँदैछ। तर यता खाडीका मरुभूमि, मलेसियाका कारखाना, कोरियाका सहर वा विश्वका विभिन्न कुनामा पसिना बगाउँदै रहेका लाखौं नेपालीका लागि दशैं–तिहार केवल सम्झनाको नाम मात्र बनेको छ।

परदेशमा कमाएको पैसाले घरको चुल्हो बल्छ, बच्चाहरूको पढाइ अगाडि बढ्छ, आमा(बुबाको औषधि चल्छ। तर त्यो पैसाले घरको माया, परिवारको स्पर्श र चाडपर्वको स्वाद कहिल्यै किनिदिन सक्दैन। दिनको १२ घण्टा काम गरेर पनि हजुरआमाको हातको जमराको सुवास, आमाको हातको मिठो खानेकुरा, भाइबहिनीको हाँसो परदेशी मुटुमा तड्पनको डोको बन्छ।
साउदीमा काम गर्ने दाङका टेक टेक बहादुर रोक्का भन्छन्, “घरमा दशैंको कुरा सुन्दा मन रोएर आउँछ। आमाले फोनमा ‘बाबु घर आएर जमरा राख’ भन्नुहुन्छ, तर म रित्तो आकाश हेरेर मात्र रमाउनु पर्छ।” यस्तै पीडा हजारौं परदेशी नेपालीको साझा कथा हो।

नेपालमा सरकार र ठूला दलले चाडपर्वको शुभकामना आदान–प्रदान गर्दै राजनीतिक भाषण गरिरहेका छन्, बजारमा उपभोग बढेको छ। तर विदेशमा श्रमदान गरिरहेका युवाको पसिना र आँसुमा बनेको अर्थतन्त्रको महत्त्व बुझ्ने कान कमै छन्। चाडपर्वको बेला उनीहरूको सम्झना अझ गहिरो हुन्छ, तर नियति र बाध्यताले उनीहरूलाई घरभन्दा टाढा राखेको छ।

घरको आँगनमा बाजा बज्छ, छोरीले आमाको काखमा टीका राख्छे, गाउँमा माला र रोटे पिङको रमाइलो हुन्छ। तर कतै मरुभूमिको तातो बालुवामा कुनै कोठामा मोबाइलको स्क्रिनमा आमाको अनुहार हेर्दै, मन भक्कानिएर बसेका छोराछोरीको पीडा देखिँदैन।

यसरी दशैं र तिहार नेपालीका लागि खुशीको पर्व मात्र होइन, परदेशीको मुटुमा चस्स चोट पार्ने सम्झनाको क्षण पनि हो। घरमा रौनक छ, विदेशमा आँसु छ। तर परदेशी मनको एउटै आशा छ – कमाएको पसिनाले एकदिन आफ्नो देशमा बस्दै चाडपर्व मनाउने, जहाँ दशैं तिहार साँच्चै आफ्नो होस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *