भाद्र १० डोटी –दिपायल सिलगढी नगरपालिका वडा नं ६ को आयोजनामा सोमबार भव्य तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। हरितालिका तीजको अवसर पारेर गरिएको शुभकामना आदानप्रदान तथा तीज मिलन कार्यक्रम धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने प्रसिद्ध शक्ति पिठ शैलेस्वरी मन्दिर प्रांगणमा सम्पन्न भएको हो।

 

तीज पर्व हिन्दु नारीहरूको महान चाडका रूपमा मनाइँदै आएको छ। यस दिन महिलाहरूले हरितालिका व्रत बसेर भगवान शिव–पार्वतीको पूजा गर्ने गर्छन् भने आपसमा गीत–संगीत, नृत्य र भेटघाट गर्दै खुशी साटासाट गर्ने परम्परा रहेको छ। यही संस्कारलाई निरन्तरता दिँदै वडा नं ६ ले यस वर्ष विशेष मिलन समारोहको आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष नरेश मलासीले तीजले महिलाहरूलाई सामाजिक एकता, संस्कार र परम्परा जोगाउने एउटा माध्यम बनेको बताए। उनले समुदायलाई जोड्ने र संस्कृतिको पहिचान जोगाउने काममा यस किसिमका कार्यक्रमले ठूलो योगदान दिने विश्वास व्यक्त गरे।

यसैगरी, कार्यक्रमका प्रमुख अतिथि तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले तीजलाई मौलिक ढंगले मनाउनुपर्नेमा जोड दिए। “तीज महिलाहरूको दुख–सुख बाँड्ने थलो हो। यसलाई संस्कारसहित मौलिक ढंगबाट मनाउन सके हाम्रो चाडपर्व जोगिन्छन्,” उनले भने। उनका अनुसार, चाडपर्वहरू हाम्रा अमूल्य सम्पत्ति भएकाले यसलाई सुरक्षित राख्ने जिम्मेवारी सबैको साझा दायित्व हो।

विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले स्थानीय तहबाट यसरी चाडपर्वमा सामूहिक कार्यक्रम गर्नाले एकता र सामाजिक सद्भाव बढ्ने बताए। अन्य वक्ताहरूले पनि तीज जस्ता चाडपर्वले हाम्रो संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्ने उल्लेख गरे।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, भैरवप्रसाद गणका गणपति कमलसिंह बिष्ट, प्रहरी उपरीक्षक विनोद शर्मा, शसस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान अधिकृत, वडा नं ५ का वडा अध्यक्ष गणेश भण्डारीलगायतको उपस्थिति थियो।

 

सांस्कृतिक प्रस्तुति र नृत्यसहित सम्पन्न कार्यक्रममा नजाराैकाे संख्यामा स्थानीय महिला सहभागी भएका थिए। परम्परागत भेषभूषामा सजिएका महिलाहरूले समूहमा नाचगान गर्दै वातावरणलाई झन् रमाइलो बनाएका थिए। कार्यक्रममा सहभागी महिलाहरूले तीजलाई संस्कृतिसँगै भेटघाट, मेलमिलाप र रमाइलो गर्ने पर्वका रूपमा आत्मसात गर्ने मौका पाएको बताए।

 

शैलेस्वरी मन्दिर परिसरमा आयोजित यस मिलन समारोहले नारीहरूको उमंग मात्र होइन, समाजमा संस्कार, परम्परा र एकता जोगाउने सन्देश पनि दिएको आयोजकले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *