डोटी, साउन २३ – सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीले शिखर नगरपालिका वडा नं. ४ का २ वटा कृषक समूहका ३७ जना कृषकलाई जलवायु मैत्री कृषि व्यवसाय तथा बजारीकरण सम्बन्धी तालिम प्रदान गरेको छ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सिडिएफ नेपाल डोटीद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत प्राकृतिक तरिकाबाट तरकारी खेती गर्दै आएका कृषकहरूलाई लक्षित गर्दै सो तालिम सञ्चालन गरिएको हो।

तालिममा कृषकहरूलाई रासायनिक मल तथा विषादीको दुष्प्रभाव, प्राकृतिक खेतीको प्रवर्द्धन, उद्यमशीलता, स्थानीय स्रोतको पहिचान, मागमा आधारित उत्पादन, बजार सर्वेक्षण, मूल्य प्रवृत्तिको विश्लेषण, बाली पात्रो निर्माण, व्यवसायिक योजना, टिपाइपछि व्यवस्थापन, भण्डारण र बजारीकरण सम्बन्धी विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइएको थियो।

त्यस्तै, दिगो कृषि अभ्यास, जलवायु अनुकुलन, जोखिम व्यवस्थापन, वित्तीय व्यवस्थापन, रेकर्ड राख्ने तरिकाकृषि क्षेत्रका सरोकारवालाको पहिचान लगायतका महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइएको परियोजना प्रमुख तथा कृषि प्राविधिक निरज बोगटीले जानकारी दिनुभयो।

बोगटीका अनुसार तालिम ६ समूहका १२० जना किसानलाई दिने लक्ष्य राखिएको छ। हालसम्म श्री कालिका कृषक समूह र गौरीशंकर कृषक समूहका ३७ जनालाई तालिम दिइएको र बाँकी ४ समूहका कृषकहरूलाई यसै महिनाभित्र तालिम प्रदान गरिने योजना रहेको बताउनुभयो।

जलवायु परिवर्तनको प्रभावलाई ध्यानमा राख्दै प्राकृतिक खेती प्रणालीमार्फत दिगो कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिमले किसानको ज्ञान र क्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *