तेजु ओली, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीको सभा हलमा बुधवार सूचना अधिकारी तथा सञ्चारकर्मीबिच समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्लाका विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीहरू तथा सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैठकमा सूचनाको हक ऐनको प्रभावकारी कार्यान्वयन, सतहमा आएका गुनासाहरू, सरकारी सूचना प्रवाहमा पारदर्शिता तथा सञ्चारकर्मी र सरकारी निकायबिचको समन्वयका विषयमा गहन छलफल भएको थियो ।
यसरी जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारी र सञ्चारकर्मी सँगै भएको बैठक नयाँ र प्रभावकारी भएको बताउँदै पत्रकार कर्ण चन्दले प्रहरीबाट पाएको सूचना आधिकारिक भएता पनि पछाडि हटेकोले आम जनमानसमा असर पर्ने गरेको बताए । बैठकमा पत्रकार महासङ्घ डोटीका अध्यक्ष प्रकाश बमले भ्रामक सूचना र अफवाह नियन्त्रण, विपद् तथा आकस्मिक अवस्थाहरूमा सूचना व्यवस्थापन, तथा गुनासो सङ्कलन, नागरिक बडापत्र र जबाफदेहिता लगायतका विषयमा कुरा राखे ।
प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बैठकको समापन गर्दै बैठकले सूचना अधिकारीहरूलाई नागरिकमैत्री ढङ्गले सेवा प्रवाह गर्न प्रेरित गर्ने र सञ्चारकर्मीहरूलाई तथ्यमा आधारित जानकारी दिन सहयोग पु¥याउने विश्वास व्यक्त गरे । सूचना आधिकारिक र सञ्चारकर्मी सँगै एउटै ठाउँमा सहभागी गराउँदा गुनासो समयमै समाधान हुने र सूचना आम जनमानसमा चाडै पुग्ने बताए ।