डोटी, असार ९ – शिखर नगरपालिकामा सोमबार एक दिने पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। शिखर नगरपालिकाको समन्वयमा सामुदायिक विकास केन्द्र (सिडिसी) डोटी को आयोजनामा तथा गुड नेवर्स इन्टरनेशनल नेपाल को आर्थिक तथा प्राविधिक सहयोगमा गोष्ठी आयोजना गरिएको हो।
स्थानीय शिक्षा सम्बन्धी मुद्दा, चुनौती र अवसरहरूको पहिचान तथा विश्लेषण, अभिभावकहरूको अर्थपूर्ण सहभागिता, बालमैत्री तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि नवीन विचार तथा सुझाव संकलन गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको परियोजना अधिकृत लक्ष्मण बहादुर देउवाले जानकारी दिए।
कार्यक्रममा शिखर नगरपालिकाभित्रका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, वडा अध्यक्ष, बाल क्लब प्रतिनिधि लगायत ५२ जनाको सहभागिता रहेको थियो। शिक्षा शाखा प्रमुख शेरबहादुर कार्कीले सहजीकरण गरेको कार्यक्रममा गुणस्तरीय तथा समावेशी शिक्षा, विद्यालयको आर्थिक तथा प्रशासनिक व्यवस्थापन, सरसफाइ, कक्षाकोठा व्यवस्थापन, विद्यालय सुधार योजना तथा नगरपालिकाबाट गरिएको अनुगमनका क्रममा देखिएका सुधारका पक्षबारे छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख दीर्घबहादुर बलायरले शिखर नगरपालिकाले अन्य क्षेत्रको तुलनामा शिक्षा क्षेत्रमा बढी लगानी गर्दै आएको बताउँदै शिक्षक दरबन्दी मिलान, एकीकृत पोसाक व्यवस्था, पालिकास्तरीय परीक्षा सञ्चालन लगायतका कार्यक्रममार्फत शैक्षिक गुणस्तर सुधारमा जोड दिइएको बताउनु भयो। उहाँले शिक्षाको विकासका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीका अध्यक्ष निर्मला रोस्याराले शिक्षा क्षेत्रमा समुदाय र स्थानीय तहको अपनत्व तथा लगानी वृद्धि आवश्यक रहेको बताउँदै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यशालाको समापन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *