असार ९
सामुदायिक विकास केन्द्र (सि.डि.सि.) को आयोजनामा नगरस्तरीय शैक्षिक कार्यसाला गोष्ठि शिखर नगरपालिकामा सोमबार सम्पन्न भएको छ ।
शिखर नगरपालिकाका १४ वटा माध्यामिक विद्यालय, ४ वटा निम्न माध्यामिक विद्यालय का प्र.अ., बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, वाल क्लवका प्रतिनिधिको सहभागितामा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा स्रोत ब्यक्ति शेर बहादुर कार्किले सहजीकरण गर्नुभएको थियो ।
गुणस्तरीय, समावेशी शिक्षा, गुनासो सुनुवाई, विद्यालयको आर्थिक तथा प्रशासनिक कार्य, नगरपालिकाबाट विद्यालय अनुगमन गर्दा देखिएका सुधारका पक्ष तथा सुधारका लागि गरिएका सिफारिसको बारेमा छलफल भएको थियो ।
विद्यालयको सरसफाई र स्वच्छता, ब्यक्तिगत सरसफाई, सौचालयको प्रयोग तथा पानीको उपलब्धता, शिक्षक निर्देशिकाको प्रयोग, वार्षिक कार्ययोजना, वार्षिक शैक्षणिक योजना, विद्यालय सुधार कार्ययोजना, कक्षा कोठा ब्यवस्थापन, कार्यालयको अभिलेख ब्यवस्थापन, धुलो रहित कक्षाकोठा, रचनात्मक तथा शैक्षिक सामाग्री टाँस लगायतका विविध पक्षमा छलफल गरिएको थियो ।


नगरपालिकाबाट नगरका सबै विद्यालयमा अनुगमन गर्दा केहि विद्यालयहरुले राम्रो गरिरहेका र केहि विद्यालयले अझै सुधार गर्नुपर्ने देखिएकाले अनुगमनको प्रतिवेदन तथा सिफारिस बमोजिम सबै विद्यालयले पौषभित्र सुधारका लागि समयावधि दिएको र सो समयसम्म पनि सुधार नभए कार्य सम्पादन मुल्यांकन र म्याद थपमा पुनः विचार गर्नुपर्ने अवस्था रहेको स्रोत ब्यक्ति शेर बहादुर कार्किले बताउनु भयो ।
राधाकृष्ण मा.वि. गोपघाटका वि.ब्य.स. अध्यक्ष देव बहादुर बलायरले शिक्षा क्षेत्रमा सबैको सहयोगको आवश्यकता रहेकाले सबै पक्षले सहयोग गरेमा अपेक्षा बमोजिम काम गर्न सकिने बताए ।लाटामाण्डौं मा.वि.का प्र.अ. रमेश भट्टले शिक्षामा राजनीति नगर्न, सबैलाई समान ब्यवहार गरी कार्यक्रम संचालन गर्न र सबैले सहयोग गर्नुपर्ने खाचो रहेको बताए ।
शिखर नगरपालिकामा शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको, दरबन्दी मिलान गरी शिक्षकहरु समेत थपी शिक्षामा विगतको भन्दा हाल राम्रो नतिजा ल्याउन सफल भएको, विद्यालय ब्यवस्थापन समितिमा युवा, अनुभवी दक्ष ब्यक्ति, महिलाहरुको सहभागिता बढ्दै गएको, एकिकृत पोषाकको ब्यवस्था गरेको, पालिकास्तरीय परीक्षा संचालन गर्ने गरेकोले आगामि दिनमा सबैले आफनो पदमा रहि नया जोश जागर र इच्छा शक्ति बोकेर काम गर्नुपर्ने नगर प्रमुख दीर्घ बहादुर बलायरले बताउनु भयो ।
संस्थाले केहि समय सम्मका लागि सरकारलाई सहयोग गरिरहेकोले नगर, वडा, समुदायले अपनत्व लिई शिक्षामा लगानी बढाई आफनो क्षमता प्रदर्शन गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताउदै कार्यक्रमका सहभागि सबैलाई धन्यबाद दिएर सामुदायिक विकास केन्द्र (सि.डि.सि.) का अध्यक्ष निर्मला रोस्याराले शैक्षिक कार्यसाला गोष्ठिको समापन गर्नुभएको थियो ।
नगरस्तरीय शैक्षिक कार्यसाला गोष्ठिमा ५२ जनाको सहभागिता रहेको थियो ।
सामुदायिक विकास केन्द्र (सि.डि.सि.) डोटी र लुथरन वल्र्ड फेडरेसन नेपालको संयुक्त साझेदारीतामा संचालित मुक्त हलिया तथा दलित, सिएसओहरु र तिनीहरुका संजालहरुलाई सवल पार्दै सामाजिक, आर्थिक र जलवायु न्याय प्रवद्र्धनका लागि जिम्मेवार निकायहरुसंगको सहकार्यलाई सुदृढ गर्ने सक्षम परियोजना र सि.डि.सि. डोटी र गुड नेवर्स इन्टरनेसनल नेपालको संयुक्त साझेदारीतामा संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत स्थानीय शिक्षा सम्बन्धी मुद्धा, चुनौती र अवसरहरुको पहिचान तथा विश्लेषण, अभिभावकहरुको अर्थपूर्ण सहभागीता, बालमैत्री तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि नवीन विचार र सुझाव संकलन गर्ने लगायतका उद्देश्यका साथ नगरपालिकामा शैक्षिक बहसका रुपमा कार्यशाला गोष्ठी आयोजना गरिएको परियोजना अधिकृत लक्षमण बहादुर देउवाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *