१९ साउन, काठमाडौं । अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
उनलाई अदालते गत चैत १५ गते भएको तीनकुने घटना र बैंकिङ कसूरमा २५ लाख रुपैयाँ धरौटी मागेर छाड्ने आदेश दिएको थियो ।
अदालतले तोकेको धरौटीको रकम बुझाएर उनी अहिले डिल्लीबजार कारागार फर्किएका थिए । त्यसको झन्डै दुई घण्टापछि कारागार प्रशासनले रिहाईको प्रक्रिया टुंग्याएर प्रसाईंलाई छाडेको छ ।
उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । ‘उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको’ विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।
उनको स्वागतका लागि समर्थकहरु डिल्लीबजार कारागार परिसरमा आएका थिए । त्यस्तै, नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पनि प्रसाईंलाई स्वागत गर्न कारागार पुगेका थिए ।
