साँझको समय। कोठाको सानो झ्यालबाट टाढै देखिने धमिलो बत्तीहरू, सडकमा गुन्जिरहेका गाडीका आवाज, र कतैबाट आएको मसालाको हल्का गन्ध—तर म भने ओछ्यानमा पल्टिएको छु। हातमा मोबाइल, उही पुरानो फेसबुक र टिकटकको स्क्रोल।
करिब १९ महिना भयो—परिवारको सपना बोकेर यहाँ आएको। सुरुमा त बसोबास, खाना र यातायातको सुविधा देखेर सन्तोष लाग्थ्यो। महिनाभरि ३० दिनै काम, थकाइ भए पनि बैंक खातामा रकम बढ्दै जानुमा आनन्द थियो।
एकदिन कम्पनीले घोषणा गर्यो—”महिनामा दुई दिन छुट्टी!”
सुरुमा खुसी लाग्यो—”वा! अब त आराम पाइने भयो।” केही महिना त साँच्चै छुट्टीको मिठास अनुभव भयो। बिहान ढिलो उठ्ने, आफ्नै संसारमा रमाउने, टाढा टाढाका कुरा सम्झने—सबै नयाँ जस्तो।
तर समयसँगै त्यो उत्साह हरायो।
छुट्टीमा न त साथीहरूसँग भेट्ने मौका, न रमाइलो गर्ने ठाउँ। नजिकै मार्केट छैन, साथीहरू आ–आफ्नो ड्युटीमा व्यस्त। कहिलेकाहीँ लाग्छ—यो छुट्टी भनेको बस “काम नगरेको तर पैसा काटिने” दिन हो।
रात पर्न लाग्दा झ्यालबाट बाहिर हेर्छु—सहर चलायमान छ, म भने स्थिर। चार भित्ताभित्र, मोबाइलको नीलो प्रकाशमा बाँधिएको। शरीरलाई आराम होला, तर मनमा अधुरोपनाको पीडा बाक्लिन्छ।
शायद, विदेशको छुट्टी भनेको रमाइलो होइन, बस—काम नगरेको दिनको अर्को नाम मात्र हो।
