संपादकीय-आजको डिजिटल युगमा सञ्चार माध्यम केवल समाचार सम्प्रेषण गर्ने माध्यम होइन, समाज परिवर्तनको उत्प्रेरक शक्ति बनिसकेको छ। सञ्चारले जनतालाई सशक्त बनाउने, उनीहरूलाई जानकारीमूलक बनाउने र जिम्मेवार नागरिकका रूपमा तयार पार्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
यही दृढ विश्वास र उद्देश्यका साथ “आवाज नेपाल” ले आफ्नो नयाँ अनलाइन यात्रा आरम्भ गरेको छ — सूचना, अभिव्यक्ति र विश्वासको भरपर्दो चौतारीका रूपमा।
हामी बुझ्दछौं, पत्रकारिता अब केवल सूचनाको आदान–प्रदानमा सीमित छैन। पत्रकारिता त्यो माध्यम हो जसले जनताको आवाज सरकार, नीतिनिर्माता र सम्पूर्ण समाजसम्म पुर्याउँछ। त्यो पुल हो जसले अन्याय र बेथितिविरुद्ध आवाज उठाउँछ, र समाजलाई सकारात्मक परिवर्तनतर्फ अघि बढाउन प्रेरित गर्छ। हाम्रो यो अनलाइन प्लेटफर्म यही चेतना, यही संकल्प र यही जिम्मेवारीसहित अगाडि बढ्नेछ।
हामी विश्वसनीयता, निष्पक्षता र जनउत्तरदायित्वमा अडिग छौं।
हाम्रा सम्पूर्ण सामग्रीहरू अनुसन्धानमा आधारित, तथ्यमा आधारित र समाजको विविध स्वरूपलाई सम्मान गर्ने खालका हुनेछन्। स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरू समेटेर, हरेक वर्ग, समुदाय र क्षेत्रमा आवाज दिन हामी प्रयासरत रहनेछौं। न त कसैको चाकरी, न त कसैको अन्ध विरोध। हाम्रो पत्रकारिता सत्य, यथार्थ र निष्पक्षताको बलमा अघि बढ्नेछ।
आजको नेपालमा जहाँ झुटा प्रचार, अफवाह, अन्धविश्वास र पूर्वाग्रह फैलिने खतरा बढेको छ, त्यस्ता समय र परिस्थितिमा सत्यको पक्षमा अडिग भएर उभिन सक्ने स्वतन्त्र मञ्चहरू आवश्यक छन्। “आवाज नेपाल” त्यही प्रयासको सानो तर दृढ कदम हो।
हामी यो यात्रामा तपाईं — हाम्रो पाठक, दर्शक र सम्पूर्ण समुदाय — को साथ र समर्थनको अपेक्षा गर्छौं।
तपाईंको सल्लाह, आलोचना र सक्रिय सहभागिताले हामीलाई अझ जिम्मेवार र सजग बनाउनेछ।
हाम्रो उद्देश्य केवल समाचार प्रकाशन होइन; सजग, सशक्त र सकारात्मक समाज निर्माणमा योगदान पुर्याउनु नै हाम्रो मूल ध्येय हो।
– सम्पादक, आवाज नेपाल परिवार
