Aawaj Nepal
Aawaj Nepal

दुई पटक फाँसी दिन खोज्दा पनि बचेका धर्मभक्तलाई कुटेर झुण्ड्याइएको त्यो दिन


आवाज नेपाल, २०७७ माघ १८ आइतबार


दुई पटक फाँसी दिन खोज्दा पनि बचेका धर्मभक्तलाई कुटेर झुण्ड्याइएको त्यो दिन

आज काठमाडौँको सिफलमा नागरिक आन्दोलनका क्रममा कार्यक्रम हुँदैछ। अहिले त नेपालमा कसैलाई पनि फाँसी दिइँदैन। तर विक्रम संवत् १९९७ मा त्यहाँको एउटा रुखमा एक जनालाई झुण्ड्याएर मारिएको थियो। उनलाई अहिले हामी शहिद धर्मभक्त माथेमाको नामले चिन्छौँ। अहिले शहिद सप्ताह मनाइँदैछ नेपालमा। त्यसो त अहिले शहिदहरु थुप्रै भइसके। तर शहिद भन्ने बित्तिकै धेरैलाई याद आउने चार जनामा उही दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री नै हुन्।

चार जना शहीदमध्ये शुक्रराज शास्त्रीलाई फाँसी दिइएको ५ दिनपछि अर्थात् माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा झुन्ड्याएर मृत्युदण्ड दिइयो। तर धर्मभक्तको मृत्युवरण शुक्रराज शास्त्रीको जस्तो सहज थिएन। उनी दुई पटकसम्म फाँसीमा चढेर पनि बाँचेका थिए। तेस्रो पटकमा मात्र उनलाई झुन्ड्याएर मारिएको थियो।

राणाका सिपाहीहरूले माघ १३ गते साँझ ८ बजेतिर नै डिल्लीबजार चारखालका पसलहरू बन्द गर्न लगाएका थिए। धर्मभक्तलाई लिएर रातको १० बजेतिर सदर जेलबाट डिल्लीबजार, ज्ञानेश्वर हुँदै एउटा लहरी सिफलतर्फ लाग्यो। रातको समय लहरी त्यसतर्फ लाग्नु र संसाँझै डिल्लीबजार चारखालका पसलहरू बन्द गर्न लगाइनुको रहस्य त भोलिपल्ट बिहान मात्र खुल्यो, जब पशुपतिको दर्शन गर्न जाने भक्तजनहरूले सिफलको एउटा रूखमा धर्मभक्तलाई झुन्डिरहेको अवस्थामा पाए। उनको गलामा एउटा प्लेकार्ड पनि झुन्ड्याइएको थियो। त्यहाँ लेखिएको थियो– ‘गाथगादी ताक्नेलाई यस्तो सजाय हुन्छ।’

वधस्थलमा पुर्‍याएपछि जनरल नरशमशेरले धर्मभक्तलाई अन्तिम इच्छाका बारेमा सोधे र धर्मभक्तले पनि निर्भिकतापूर्वक जवाफ दिए– ‘मलाई राणाशासन छिट्टै खत्तम भएको हेर्ने इच्छा छ।’ त्यो सुनेर राणाशासनका जनरल नरशमशेर रिसले आगो हुनु स्वाभाविकै थियो।

त्यसपछि उनलाई फाँसीमा झुन्ड्याएर खुट्टाको पर्खाल भत्काइयो। तर ठूलो जीउका धर्मभक्तको शरीर छटपटिंदा हाँगो लच्क्यो र उनले भुइँमा खुट्टा टेक्न पुगे।

धर्मभक्तलाई मृत्युदण्डको सजाय दिन खटिएका सिपाहीहरूका टोलीका एक सदस्य तथा घटनाको प्रत्यक्षदर्शी लेफ्टिनेन्ट कृष्णबहादुर थापाले घटनाका सम्बन्धमा लेखक डा. राजेश गौतमलाई जानकारी दिने क्रममा भनेका छन्– ‘अभियुक्त धर्मभक्तलाई झुन्ड्याउने आदेश थियो। धर्मभक्तको गर्दन फाँसीको पासोभित्र पसाई ठड्याइएको गारो भत्काइयो। रूखको हाँगा लच्किन गयो। धर्मभक्तले जमिन टेके, झुन्डिएनन्। दोस्रो पटक त्योभन्दा मोटो हाँगोमा पहिलेजस्तै झुन्ड्याइयो। यस पटक पहलमान धर्मभक्त छटपटिंदा फाँसीको डोरी नै चुँडियो। कस्सिएको डोरी चाँडो फुकाउन पनि सकिएन। नरशमशेर आफैले चक्कु लिई डोरी काटे। त्यति बेला निसास्सिएका धर्मभक्तले नम्रतापूर्वक नरशमशेरलाई ‘म त हजुरको पनि गुरु, दुई पटकसम्म फाँसीबाट बाँचिसकेको, यस्तो अवस्थामा फाँसी दिनु न्यायसंगत होइन’ भने। तर नरशमशेरले ‘तँलाई केको न्याय, झन्डै मलाई पनि मुछेको थिइस्’ भन्दै हातको चक्कुले धर्मभक्तको गालादेखि चिउँडोसम्म काटिदिए। रिसको झोकमा धर्मभक्तले पनि एक लात के हानेका थिए, नरशमशेर हुत्तिंदै ५–६ हात पर पछारिए। त्यसपछि नरशमशेरले १०–१५ जना सिपाही लगाएर उनलाई मरणासन्न हुने गरी पिटाए। अनि मूर्छा परेका धर्मभक्तलाई ९ जना सिपाहीहरूले तेस्रो पटक फाँसीमा चढाई मारे।’

घटनाका प्रत्यक्षदर्शी लेफ्टिनेन्ट कृष्णबहादुर थापाका अनुसार धर्मभक्तले मृत्युवरणको ठीकअघि ठूलो संघर्ष गर्नुपरेको थियो।

प्रत्यक्षदर्शी थापाले घटनाको वर्णन यसरी गरे तापनि मृत्युदण्ड तामेलीका लागि खटिएका जनरल नरशमशेरको भनाइ भने अर्कै छ। उनले ‘तन्नेरी’ द्वैमासिकको वर्ष २२ अंक १ मा मृत्युदण्ड दिने दिन धर्मभक्तको शरीर मृतप्रायः भएको बताएका छन्। उनले सो पत्रिकालाई भनेका छन्– ‘अझ भन्ने हो भने उनी मरिसकेका थिए, नियम पुर्‍याउन मात्र झुन्ड्याइएको हो।’ धर्मभक्त झोकी स्वभावका भएकाले र शरीरमा तागत पनि भएकाले कसैले जेलमै केही गरेको त होइन, या उनले आत्महत्या गरेको त होइन? भन्ने आशंका पनि उठाइएको छ।

तन्नेरी पत्रिकामा यस्तो कुरा बोल्ने उनको हालै प्रकाशित ‘उहाँकै जुवानी’ आत्मवृत्तान्तमा भने फरक कुरा आएको छ। उक्त आत्मवृत्तान्तमा धर्मभक्त त्यस दिन अफिम खाएर हो वा के भएर हो अलि अर्धचेतन जस्ता भइसकेका थिए भनिएको छ।

उक्त आत्मवृत्तान्तमा नरशमशेरले बताएअनुसार लहरीमा धर्मभक्तलाई चढाउँदा पनि ७–८ जना सिपाहीले बोकेर उचाल्नुपरेको, लहरीमा चुँसम्म नबोलेको, लहरीबाट ओराल्दा पनि सबै सिपाहीले अर्धचेतन शरीरलाई थामेर ओराल्नुपरेको र पोडेले तयार पारेको फाँसीमा झुन्ड्याउनुपर्दा पनि त्यत्तिकै सिपाहीहरू प्रयोग गर्नुपरेको थियो। उनको दाबीअनुसार पहिलोचोटी हाँगा लचिलो भएको र मृत्यु हुनुका सट्टा घाँटी कक्ल्याक–कक्ल्याक मात्र भएको, अर्को पटक हाँगा सुकेको वा खोक्रो परेकोले ठनक्कै भाँचिई धर्मभक्तको शरीर भुइँमा थचारिएको र तेस्रो पटक दह्रो हाँगो छानेर झुन्ड्याइएको थियो।

तर घटनाको प्रत्यक्षदर्शीको भनाइ र धर्मभक्तलाई झुन्ड्याइएको भोलिपल्ट देख्ने रामवीर माथेमाका अनुसार धर्मभक्तको घाँटी छड्के परेको, मुखबाट रगत आएको, चिउँडोदेखि गालासम्म काटिएको र रगतको धर्सा जमेको अवस्थामा थियो।

त्यसैले नरशमशेरको दाबीमा सत्यता देखिंदैन भने धर्मभक्तको संगत गर्ने नेपाल प्रजापरिषद्का अर्का सदस्य हरिकृष्ण श्रेष्ठको भनाइमा धर्मभक्त कहिल्यै अफिम सेवन गर्दैनथे।

धर्मभक्तले मृत्युवरण गर्दा उनका आफन्त भन्नु त्यस बेला फुपूकी छोरी सूर्यलक्ष्मीबाहेक कोही थिएनन्। उनको दाहसंस्कार पनि सूर्यलक्ष्मीकहाँ खाना पकाउने लमजुङका ब्राह्मण शिवचन्द्र घिमिरेले गरेका थिए।

गंगालाललाई माफी मगाउने अनेकौं प्रयत्न

ज्यान सजाय पाउनेमध्ये सबैभन्दा कलिलो उमेरका २२ वर्षीय गंगालाललाई माफी मगाउने अनेकौं प्रयत्न राणाहरूले गरेका थिए। त्यतिखेर गंगालालसँगै मुछिएका तर ब्राह्मण भएका कारण ज्यान माफी पाएका नेता रामहरि शर्माका अनुसार सबैभन्दा बढी यातना पनि गंगालाललाई नै दिइएको थियो। यसरी सबैभन्दा बढी यातना दिनुको कारण थियो– यातना खप्न नसकेर गंगालालले माफी मागून् भन्ने।

गंगालाललाई गोली दागेर मारिनुभन्दा ठीक एक दिनअगाडि मात्र उनकी श्रीमती हसिनादेवीले छोरा जन्माएकी थिइन्। राणाहरूले अन्तिम भेटका लागि सोही दिन उनलाई बोलाएका थिए। तर सुत्केरी भएकी कारण उनले आफ्ना श्रीमान्को अन्तिम दर्शन पाइनन्।

जनरल नरशमशेरले आरुनो आत्मवृत्तान्तमा उल्लेख गरेअनुसार जुद्धशमशेरबाट उनलाई सकेसम्म माफी मगाउनू भने आदेश भएको थियो। अन्तिम समयमा माफी मागेको खण्डमा ज्यान सजायको सट्टा उनलाई आजीवन कारावासको सजाय दिने सोच जुद्धशमशेरको थियो।

त्यसैले उनलाई बोकेको लहरी उनकै घर भएको प्याफलको बाटो लगिएको थियो। सोही बाटो जाँदा गंगालालले आफ्नी श्रीमतीलाई बोलाएका थिए– ‘हसिना, हसिना’

त्यस बेला नरशमशेर र उनका आर्मी अफिसर साथीले पनि गंगालाललाई माफी मगाउन भरमग्दुर प्रयत्न गरेका थिए। तर उनीसँगै मृत्युदण्डका लागि शोभाभगवतीतर्फ लगिएका दशरथ चन्दले एकैसाथ एकै ठाउँ मर्न पाऊँ भनी माग राखेका थिए। अझ दशरथले त पहिले गंगालाललाई मार्नू अनि मात्र आफूलाई मार्नू भनी अनुरोध गरेका थिए। इतिहासकार डा. राजेश गौतमका अनुसार दशरथले पहिले गंगालालका लागि गोली माग्दा गंगालालले भनेका थिए– ‘दाइ म तपाईंको कुरा बुझ्छु, त्यसैले तपाईं नै पहिले जानुस्।’

दशरथ चन्दलाई शंका थियो, गंगालालले माफी मागिहाल्छन् कि भन्ने। त्यसैले गोली खाने बेलामा दशरथले गंगालाललाई ‘होइन भाइ, तिमी पहिले जाऊ। तर मलाई अन्तरिक्षमा पर्खिरहू, हामी दुवै दाजुभाइ सँगै स्वर्ग जाऔंला’ भनेको इतिहासकार भुवनलाल प्रधानले आरुनो पुस्तक ‘शहीद गंगा–दशरथ’ मा उल्लेख गरेका छन्।

साथै दशरथको छटपटी देखेर गंगालालले माफी मागिहाल्छन् कि भन्ने राणाहरूको आशा पनि गंगालालले व्यर्थै तुल्याएका थिए। अन्ततः गंगालालले माफी माग्नुको सट्टा कठोर मृत्युवरण गरेका थिए।

(२०५८ सालमा प्रकाशित ‘साधना’बाट)

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180