Aawaj Nepal
Aawaj Nepal

प्रधानमन्त्री ओलीलाई विश्राम लिन गगन थापाको आग्रह


आवाज नेपाल, २०७६ भदौ १८ बुधबार


प्रधानमन्त्री ओलीलाई विश्राम लिन गगन थापाको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अस्वस्थताका बाबजुद विदेशमै रहेर भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले कार्यकारी प्रमुख लामो समयसम्म देश बाहिर बस्दा देशको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादा आदिमा जोखिम उत्पन्न हुने भन्दै प्रधानमन्त्रीलाई धेरै धपेडी नगर्न आग्रह गर्नुभयो ।

पछिल्लो समय प्रधानमन्त्रीको कार्यबोझ बढाइएको तर शारीरिक स्वास्थ्य अवस्था भने कमजोर भएको थापाले बताउनुभयो । इच्छाशक्ति भए पनि प्रधानमन्त्रीले आफूमाथिको दायित्व पूरा गर्न नसक्ने भन्दै उहाँले नयाँ प्रधानमन्त्री चयनको मार्गप्रशस्त गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले धेरै पटक नेपाल कम्युनिष्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गर्ने गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौँ ? बा धपेडी नगर्नुहोस् । बा आराम गर्नुहोस् । बा विश्राम लिनुहोस् । हामी हाम्रो बालाई यसो भन्छौ । तर प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौँ ?’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण लगातार काम गर्न नसक्ने भन्दै उहाँले विकल्प खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘कार्यकारी प्रमुख एकै पटक लामो समयसम्म देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न त छँदै छ । प्रत्येक २/३ महिनामा १०/१२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाउने शासकीय जिम्मेवारी पूरा हुन सक्दैन ।’

नेकपाको बहुमत रहेको र प्रधानमन्त्री छान्न पनि सजिलो भएको भन्दै उहाँले अस्वस्थ भएका प्रधानमन्त्रीलाई विश्राम दिन आग्रह गर्नुभयो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सरकारले संसदलाई जानकारी नगराएको प्रति पनि उहाँले गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180