Aawaj Nepal
Aawaj Nepal

खडेरीले अन्नबाली सखाप, किसानलाई बीउको चिन्ता


आवाज नेपाल, २०७६ असार २३ सोमबार


खडेरीले अन्नबाली सखाप, किसानलाई बीउको चिन्ता

खडेरी लागेर अन्नबाली सखाप भएपछि भोजपुरका कृषक चिन्तित बनेका छन् । असार महीना बित्न लाग्दासम्म पनि पानी नपार्दा बारीमा लगाएको मकै, धान, कोदोलगायत अन्य बाली सुकेपछि उनीहरु चिन्तित बनेका हुन् ।

भोजपुर नगरपालिका–६ ठूलो पालुवाका करीब ३०० घरपरिवार कृषकलाई आगामी वर्षमा मकैको बीउ कसरी जोहो गर्ने भन्ने चिन्ता बढेको छ । बारीमा लगाएको मकै खडेरीको कारण सखाप भएपछि उनीहरुलाई चिन्ता थपिएको हो । स्थानीयवासी जीवन आचार्यले भने, “सबै अन्नबाली खडेरीले परालजस्तो भएको छ, हामीलाई आगामी वर्षको बीउको चिन्ता बढेको छ ।” अब पानी परेपनि मकै पुरानो स्थितिमा नआउने उनको भनाइ छ । “सबै मकै सुकेको छ, किराको प्रकोप पनि उस्तै छ, अब पानी आए पनि काम छैन ।”

यहाँका किसानले सुकेको मकैको बिरुवा गाईवस्तुलाई खुवाउन थालेका छन् । तर गाईवस्तुले पनि खान छाडेको अर्का कृषक गणेश परियारले बताए । परियारले भने, “बारीको सबै मकै वस्तुलाई खुवाउन थालेका छौँ, तर वस्तुले पनि खान छाडे अब त ।” मकै खुवाउँदा कतिपयको वस्तु नै मरेको उनको भनाइ छ ।

समयमा वर्षा नभएपछि गाउँमा पिउने पानीको अभाव भएको छ भने खेत बाँझै छ । वर्षभरि खाने कमाइ सखाप भएपछि उनीहरु कसरी बाँच्ने भन्ने चिन्तामा परेका हुन् । अन्नबाली जति खडेरीले सखाप बनाएपछि भोकमरीको चिन्ता हुन थालेको हो । सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर राहतको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

स्थानीयवासी कुलबहादुर कार्कीले भने, “हामीलाई खडेरीको कारण समस्या थपिएको छ, योसँगै जिल्लाको अन्य ठाउँमा पनि खडेरीका कारण यस्तै अवस्था छ, त्यस्ता ठाउँको पहिचान गरी सरकारले राहतको व्यवस्था गर्न आवश्यक छ ।” दलगाउँ, कोट, गोगने, वास्तीम, हसनपुरलगायत ठाउँमा खडेरीको कारण अन्नबालीमा क्षति पुगेको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180