Aawaj Nepal
Aawaj Nepal

मोदीको मन्त्रिपरिषदमा १९ नयाँ अनुहार, मन्त्रीहरुको जिम्मेवारी आज तोकिने


आवाज नेपाल, २०७६ जेठ १७ शुक्रबार


मोदीको मन्त्रिपरिषदमा १९ नयाँ अनुहार, मन्त्रीहरुको जिम्मेवारी आज तोकिने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा देश–विदेशका करिब ८ हजार अतिथिको उपस्थितिमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मोदीले बिहीबार बेलुका शपथ लिएका हुन् ।

सपथसँगै प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद्समेत गठन गरेका छन् । ५८ सदस्यीय मन्त्रिपरिषदमा २५ जना क्याबिनेट मन्त्री नियुक्त भएका छन् । ९ जना स्वतन्त्र प्रभार र २४ राज्यमन्त्री नियुक्त गरिएका छन् ।

मन्त्रिपरिषद सदस्यको जिम्मेवारी भने शुक्रबार बेलुकीसम्म टुंगो लाग्ने जनाइएको छ । शुक्रबार नै मोदी नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठक बस्ने भएको छ ।

मोदी मन्त्रिपरिषदमा राजनाथ सिंह दोस्रो वरियताका मन्त्री बनेका छन् । यसअघि गृह मन्त्रालय सम्हालेका उनलाई सोही मन्त्रालयको जिम्मेवारी दिइने हो या अन्य मन्त्रालयमा सारिने हो भन्ने प्रष्ट भइसकेको छैन । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पहिलो पटक केन्द्रीय मन्त्री नियुक्त भएका छन् । उनी वरियतामा तेस्रो नम्बरमा छन् । भाजपाका पूर्व अध्यक्ष नितिन गडकरी चौथो वरियतामा मन्त्री बनेका छन् ।

मोदीले पूर्वविदेश सचिव एस जयशंकरलाई पनि मन्त्रिपरिषद सदस्यमा नियुक्त गरेका छन् । परराष्ट्र मामलाका विज्ञ मानिने उनलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइने प्रवल सम्भावना रहेको स्रोतले जनाएको छ । यसअघि विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेकी सुष्मा स्वराज लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी थिइनन् । उनलाई मोदीले मन्त्रिपरिषदमा निरन्तरता दिएका छैनन् । उनको स्थानमा नै एस जयशंकरलाई जिम्मेवारी दिने सम्भावना रहेको विज्ञहरु बताउँछन् ।

मोदीले मन्त्रिपरिषदमा १९ नयाँ अनुहारलाई स्थान दिएका छन् । अघिल्लो मन्त्रिपरिषदमा रहेका अरुण जेट्ली, मेनका गान्धी, राज्यवर्धन राठौर, जेपी नड्डा, राधा मोहन सिंह, जयन्त सिन्हा, महेश शर्मा, सुरेश प्रभुलाई नयाँ मन्त्रिपरिषदमा स्थान दिइएको छैन ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180