Aawaj Nepal
Aawaj Nepal

‘पाखण्डी भएर बाँच्नुभन्दा छुच्चो भएर मर्न चाहन्छु’


आवाज नेपाल, २०७६ वैशाख २८ शनिबार


‘पाखण्डी भएर बाँच्नुभन्दा छुच्चो भएर मर्न चाहन्छु’

समाजलाई परिवर्तन गर्ने होइन, आफूलाई परिवर्तन गर्नुपर्छ

कुनैबेला नेपाली हास्यव्यङ्ग्य साहित्यमा तीनजनाको बोलावाला थियो- भैरव अर्याल, रामकुमार पाँडे र विश्व शाक्य । यी तीनमध्ये भैरव अर्यालले धेरैअघि आत्महत्या गरे । अहिले पनि अर्यालका कृतिहरु सदावहार रुचाइन्छन् । रामकुमार पाँडेले हाँसने घर खोलेर हाँस्यव्यङ्ग्यलाई निरन्तरता दिइरहेका छन् । तर, विश्व शाक्यको नाम लगभग ओझेल परिसकेको छ ।

कुनैबेला झापाको ‘जुही’ पत्रिकाले विश्व शाक्यको प्रतिभाको कदर गर्दै महाविशेषाङ्क प्रकाशन गरेको थियो । केशवराज पिँडालीले विश्व शाक्य नै भोलिका हास्यव्यङ्ग्यका धरोधर भनेर प्रसङ्सा गरेका थिए । पिँडालीले भविष्यवाणी गरेझैं उनले १० वटा हाँस्यव्यङ्ग्य पुस्तक प्रकाशन गरे पनि नयाँ पुस्ताले उनलाई चिन्दैनन् ।

विसं. ०७१ सालमा ‘सोझा तस्वीर : बाउँठा कुरा’ नामक फोटो हास्यव्यङ्ग्य पुस्तक निस्कँदा बाहेक उनी सञ्चार माध्यममा दशकदेखि नै आइरहेका छैनन् ।

पोखरेली साहित्यकारबीच विश्व शाक्यको छवि छुच्चो, अव्यवहारिक र आफैंमा मग्न हुने मस्तमौला कविका रुपमा छ । उनी चर्चित फोटोग्राफर र लोकप्रिय कलाकार पनि हुन् । करोडौंका मालिक उनलाई खान-बस्न दुःख छैन, तैपनि उनी आफ्ना पुस्तक झोलामा बोकेर बेच्दै हिँड्छन् ।

हालै शाक्यको फोटो पुस्तक ‘पोखरा हिजो र आज’ प्रकाशित भएको छ । उक्त पुस्तकले ५० वर्षअघिको पोखरा र अहिलेको पोखराको सजीव चित्रण गरेको छ । यति महत्वपूर्ण पुस्तक लेखक आफैंले झोलाभरि बोकेर बेच्न हिँडेको दृश्य आम पोखरेलीका लागि सामान्य हो ।

हास्यव्यङ्य बाहेक बुद्ध दर्शनसम्बन्धी १० पुस्तक र साहित्यका अन्य विधामा ६ पुस्तक पनि लेखेका विश्व शाक्यलाई अनलाइनखबरले पोखराको न्युरोडस्थित घरमा भेटेको थियो । उमेरले ७० वर्ष पुगे पनि उनी भर्खरको ठिटो झैँ घरका कोठा चोटा नापिरहेका थिए । सञ्चारमाध्यमले उनका विषयमा केही खोजखबर गर्न लागेको सुन्दा उनको अनुहारमा अविश्वास राम्रैसँग प्रकट भयो ।

हामीले विश्व शाक्यसँग कुराकानीको सुरुवात यही सन्दर्भबाट सुरु गर्‍यौं ।

राजधानीका पुराना स्रष्टामध्ये धेरैले तपाई निष्कृय भइसकेको ठान्छन् । यसैको खोजखबर गर्न आएका हौं, कस्तो छ तपाईंलाई ?

न म कुनै राजनीतिक दलसँग आवद्ध छु । न म कुनै शक्तिकेन्द्रमा छु । न मेरो विषयमा लेख्दा पत्रिकाहरु बिक्छन् । उल्टै मसँग कुरा गर्न आउनेले मेरा पुस्तकहरु किन्नुपर्छ । यस्तो मानिससँग कुरा गर्नकै लागि कोही किन आउँछ र ? मलाई त विश्वास लागेन ।

कोही त तपाईंले गरेको योगदान सुनेर पनि भेट्न आउलान् नि, आउँदैनन् र ?

मैले अरुका लागि काम गरेको हो र ? आफ्नै अहम तुष्टि गर्न लेख्थेँ । पछि थाहा पाएँ, लेखेर न त मन शान्त हुन्छ, न समाज परिवर्तन हुन्छ । त्यसपछि लेख्नै छाडिदिएँ । बरु ध्यान गरेर बस्छु । बुद्ध दर्शनसम्बन्धी पुस्तक लेख्छु । यो साहित्य भन्ने कुरा वाहियत त भन्दिनँ, तर यसले केही परिवर्तन हुन्छ भन्ने लाग्दैन । मान्छेले अरुलाई केहीगरी पनि परिवर्तन गर्न सक्दैन । परिवर्तन गर्ने त आफैंलाई पो हो ।

पछिल्लो पटक ५० वर्षभन्दा बढी समय लगाएर खिचिएका पोखराका तस्वीरहरुलाई पुस्तकको रुप दिनुभएको रहेछ । यो पुस्तक प्रकाशन गर्ने कारण चाहिँ के हो ?

मैले हेर्दाहेर्दै पोखरा परिवर्तन भयो । साहित्य मेरो सौख थियो भने फोटोग्राफी व्यवसाय । तैपनि मैले पोखराको जनजीवनका हजारौंं तस्वीर खिचेको रहेछु । मलाई लाग्यो, हिजो जुन ठाउँबाट मैले ती तस्वीरहरु खिच्ोँ, आज त्यो ठाउँबाट पोखरा कस्तो देखिन्छ भन्ने कुरा मनमा उब्जियो । ती ठाउँ गएर फोटो खिच्दै जाँदा समय क्रममा हामीले पोखरालाई कसरी बिनास गरिरहेका छौं, स्पष्ट देखियो । यो आम मानिसलाई थाहा होस् भनेर निकाल्ोको हुँ । जसलाई यसको महत्व थाहा छ, उसले किन्छ । थाहा छैन भने उसलाई मैले यो काम गरेँ भन्दै हिँड्दिनँ ।

तर, पुस्तक बोकेर बेची हिँड्नु हुन्छ, यो काम त प्रकाशकहरुको हो नि, होइन र ?

विश्व शाक्य कुनै प्रकाशकलाई नमस्कार गर्दै मेरो पुस्तक छापिदेऊ भन्दै हिँड्ने स्तरको व्यक्ति होइन । यो मैले घमण्ड गरेर भनेको होइन । सामग्री आफैंले तयार पारेको हुँ । आफंै छाप्छु, आफैं बेच्छु । लगानी उठेपछि कुरै सकियो । किन अरुलाई भनी हिँड्ने ? आफूले मेहनत गरेको कुरा बेच्नलाई लजाउने भए किन लेख्नुपयो ? यो त सिर्जनात्मक काम हो । मलाई चिन्नेले तपाईं जसरी खोज्दै आउनुभयो, त्यसैगरी अरु पनि आउँछन् र पुस्तक पनि किन्छन् । अनि किन चाहियो प्रकाशक ?

तपाईंलाई चिन्ने मानिसहरुले तपाईंका बारेका के भन्छन्, थाहा छ ?

थाहा छैन । तर, छुच्चो भन्छन् भन्ने अञ्दाज गरेको छु ।

किन होला ?

किनभने म नचाहिँदो स्वार्थमा हिँड्दिनँ । कसैलाई नमस्कार गरेर हजुर भन्दिनँ । साहित्यकारहरु सकेसम्म आफ्ना कार्यक्रमहरुमा मलाई बोलाउँदैनन् । बोलाइहाले पनि उनीहरुलाई समयमै कार्यक्रम सक्न दबाव हुन्छ । नत्र म उठेर हिँड्छु । राजनीतिका मान्छे मनपराउँदिनँ, किनभने उनीहरुसँग केही लिनुदिनु छैन । यदि अरुजस्तो राजनीति वा शक्तिकेन्द्रको पछि नलाग्नु, समयको ख्याल राख्नु, मैले गरेको काम राम्रो हुनुपर्छ भनेर दबाव दिनु र आदर्श जीवन बाँच्नुलाई छुच्चो भनिन्छ भने म छुच्चो नै हुँ ।

तपाईंमा यस्तो स्वभाव कहिलेदेखि आयो ?

सायद पहिलेदेखि नै यस्तै थिएँ जस्तो लाग्छ । उदाहरणका लागि म फोटोग्राफी गर्दा मेरा ग्राहकहरु ज्ास्तोसुकै भए पनि फोटो भए पुग्छ भन्ने ठान्थे । तर, म राम्रो कामका लागि दोहोर्‍याएर, ढिलो गरेर, मेहेनत गरेर काम गर्थें । यसो गर्दा मेरा ग्राहक पनि भड्कन्थे, घरका मानिस पनि रिसाउँथे । ग्राहक खुसी छ भने तिमीलाई किन जान्ने हुनुपर्‍यो, किन दोहोर्‍याएर, पटक-पटक मेहेनत गरेर फोटो खिच्नुपर्‍यो भनेर कराउँथे । अरे बाबा, मैले पैसाका लागि काम गरेको हो र ? मलाई त काममा आनन्द आउनुपर्छ । मेरो कामका पछि विश्व शाक्यको नाम जोडिएको छ भन्थेँ । उनीहरु यस्ता कुरा बुझ्दैन थिए । उनीहरुको विचारमा म मूर्ख र घमन्डी हुँ । समयको धारसँगै बग्न नसक्ने मान्छे हुँ ।

मेरो यस्तो बानी बढ्दै गयो । मानिसहरु बाहिर एकथरी हुन्छन्, भित्र अर्कोथरी हुन्छन् । रीस उठ्यो भने पनि भोलि अप्ठ्यारो हुन्छ भनेर दबाएर राख्छन् । यस्ता मानिस रोगी हुन्छन् । तर, म भित्र जस्तो छु, बाहिर पनि उस्तै छु । म पाखण्डी भएर बाँच्नुभन्दा छुच्चो भएर मर्न चाहन्छु ।

तपाईंका पुस्तक पढ्दा धर्ममाथि निकै ब्यङ्ग्य गरेको देखिन्छ, किन होला ?

विकृति कि राजनीतिमा छ, कि धर्ममा छ । व्यङ्ग्य लेखक भएपछि जहाँ बढी विकृति हुन्छ, उसले त्यहीँ व्यङ्ग्य गर्छ । राजनीतिका विषयमा धेरै लेखिएका छन् । तर, धर्मका विषयमा कमै लेखिन्छन् । धर्मका नाममा हुने गलत कुरा लेख्दा समाजलाई थोरै परिवर्तन गर्न सकिन्छ भने मैले त्यो जोखिम उठाउनैपर्छ ।

उदाहरणका लागि अहिंसाको पूजारी बुद्ध धर्म मान्नेहरु नै हिंसा हुने काम गर्छन् । यो देखेपछि एउटा लेखक कसरी चुप लागेर बस्न सक्छ ? त्यसपछि लेख्नैपर्छ :

बुद्धम् शरणम् गच्छामी,

ऐला छोयला भक्षामी

नेवारी बुद्धिष्टहरुले गर्दै आएको यस किसिमको अहिंसालाई कसरी पचाउनु ? म हिन्दुका विकृतिमाथि पनि कहिलेकाहिँ कलम चलाउँछु । तर, बढी बौद्ध धर्मकै विषयमा लेख्छु । किनभने, म त्यो धर्म मान्छु । अरुका धर्ममाथि बोल्ने अधिकार मलाई छैन ।

तपाईं राम्रो कलाकार पनि हुनुहुन्थ्यो रे । एकल प्रदर्शनी पनि गर्नुभएको थियो । कलाको संसार किन त्याग्नुभयो ?

पोखरामा एक कला प्रदर्शनी गर्ने पहिलो पोखरेली कलाकार म नै हुँ । नेपाल ललितकला संस्थाको पोखरामा शाखा खोल्ने पहल पनि हामीले नै गरेका हौं । तत्कालीन राजारानीहरु पनि हाम्रो कलाकारिता हेर्न आएका थिए । दुर्गा बराल (वात्सायन) र म कलाकारितामा राम्रै जमेका थियौं । तर कलाकारिताभन्दा त्योबेला फोटोग्राफीमा पैसा थियो । ग्रामीण क्षेत्रका फोटोहरु पर्यटकले खोजी खोजी लैजान्थे । मेरा कतिपय तस्वीरहरु हजारौंप्रति पनि बिकेका छन् । एक प्रकारले आर्थिक कारणले पनि मैले कलाकारिता छाडको हुँ । एक साथ साहित्य, कला र फोटोग्राफी थेग्न नसकेर पनि छाडेको हुँ ।

फोटाग्राफीमा चाहीँ कसरी आउनुभयो ?

मेरो घरअघि शम्भुरत्न शाक्यको फोटो स्टुडियो थियो । त्यहाँ मेरा दाजु काम गर्नुहुन्थ्यो । मानिसहरुको सधैं भिड लाग्दथ्यो । त्यो बेला फोटो खिच्नु साह्रै महंगो सौख मानिन्थ्यो । एसएलसी दिन र नागरिकता बनाउन पनि फोटो चाहिन्थ्यो । दसैं तिहारमा लाइन लागेर फोटो खिच्ने मानिस आउँथे । यसले मलाई आकर्षित गर्दै लग्यो ।

विश्व शाक्यको पहिलो तस्वीर
तर, मेरो फोटोग्राफीमा कलाकारिता थियो, साहित्य थियो । व्यङ्ग्य त झन् बढी थियो सायद । यही कारण मेरा तस्वीरहरु विदेशीले निकै मनपराए । पहिलो तस्वीर मैले सिरिसको फूललाई टेबुलमा राखेर खिचेको थिएँ । आज हेर्दा पनि त्यो तस्वीरमा कलाको नमूना देख्न सकिन्छ । सायद यसै कारण हुनुपर्छ, चाँडै मेरो प्रगति पनि भयो । घरमा फोटो स्टुडियो मात्रै चलेन, बाहिर पनि असाध्यै धेरै काम आउन थाल्यो । साहित्यमा रुची नहुनेहरुले मलाई फोटोग्राफर नै भनेर चिन्छन् ।

साहित्यमाचाहिँ कसरी आउनुभयो ?

कक्षा ७ मा पढ्दा म १४ वर्षको थिएँ । विद्यालयले हरेक शुक्रवार साहित्यिक कार्यक्रम गर्दथ्यो । त्यसमध्ये नाटक पनि प्रमुख विधा थियो । त्यही बेला मैले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको विषयमा नाटक प्रदर्शन गर्न ५७ पृष्ठ लामो नाटक लेखेको थिएँ । विद्यालयमा नै लेख्ने वातावरण थियो र हौसला दिइन्थ्यो । सायद यही कारण त्यो नाटक लेखेँ । त्यो प्रदर्शन भएपछि मलाई लेख्ने हौसला जाग्यो ।

पछि विद्यालयका विकृतिका विषयमा पनि लेख्न थालेँ । त्यस्ता लेखहरु चाहिँ व्यङ्ग्य भएछन् । खासमा मैले व्यङ्ग्य लेख्छु भनेर ती लेखेको थिइनँ । तर, अञ्जानमै ममा त्यो प्रतिभा बढ्दै गएको रहेछ ।

तपाईंले साहित्य, कला र फोटोग्राफीमा धेरै काम गर्नुभयो । तर, पुरस्कारहरु भने खासै पाउनुभएको देखिएन, किन होला ?

यो देशमा लेखेर पुरस्कार पाइन्छ भन्ने भ्रममा हुनुहुन्छ सायद । म पनि यस्तै भ्रममा थिएँ । पुरस्कार पाउन दुईवटा गुण चाहिन्छ ः एउटा शक्तिकेन्द्रमा हुनुपर्छ, अर्को चाकडी गर्न सक्नुपर्छ । मसँग यी दुई गुणको एक अंश पनि छैन । सानो छँदा बालकविता प्रतियोगितामा प्रथम भएयता मैले लेखेरै पुरस्कार पाएको बिरलै होला । केही सम्म्ाान पाएँ हुँला तर पुरस्कार पाएको छैन । लिन्न पनि ।

आज पोखरासम्बन्धी जति पनि तस्वीर पोस्टरहरुमा देख्नुहुन्छ, तीमध्ये अधिकांश मेरा हुन् । यो नै मेरा लागि पुरस्कार हुन् । संसारभर पोखराका तस्वीरहरु पुगेका छन्, तीमध्ये पनि अधिकांश मेरा हुन् । यो नै मेरा लागि ठूलो पुरस्कार हो ।

बरु आमाबुवाका नाममा ६० लाख रुपैयाँको अक्षयकोष खडा गरेर मैले एक सयजति बच्चालाई छात्रवृत्तिमा विद्यालय पढाइरहेको छु । प्रतिभाहरुलाई पुरस्कृत गरिरहेको छु ।

आफू फरक छु भन्ने देखाउन यस्ता काम गर्नुभएको हो कि भन्नेहरु पनि छन्, के भन्नुहुन्छ ?

भन्न त के-के भन्छन् भन्छन् । मान्छेले आफू काम गर्नुपर्छ । अरुको कुरा सुन्ने होइन, आफ्नो काम गर्नुपर्छ । समाजलाई परिवर्तन गर्ने होइन, आफूलाई परिवर्तन गर्नुपर्छ । यति बुझ्न मलाई वषार्ंै लाग्यो । बुझेपछि म त्यता लागेेको छु । अब अरुले के भन्छन्, किन भन्छन् भनर पछि किन लाग्ने ? के आवश्यक छ ?

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180