Aawaj Nepal
Aawaj Nepal

भारतमा लोकसभा निर्वाचनः करोडपतिदेखि कुख्यात अपराधीसम्म उम्मेद्वार


आवाज नेपाल, २०७६ वैशाख २३ सोमबार


भारतमा लोकसभा निर्वाचनः करोडपतिदेखि कुख्यात अपराधीसम्म उम्मेद्वार

एजेन्सी
एजेन्सी– भारतमा पाँचौ चरणको लोकसभा निर्वाचन आज जारी छ । पाँचौ चरणको निर्वाचनमा ७ राज्यका ५१ लोकसभा सिटमा मतदान हुँदैछ । पाँचौ चरणको निर्वाचनमा देशभरका कूल उम्मेद्वारहरुमध्ये १२६ जना अर्थात १९ प्रतिशत उम्मेद्वार कुनै न कुनै आपराधिक घटनामा सामेल उम्मेद्वार मैदानमा उत्रिएका छन् । यीमध्ये ९५ जना अर्थात १४ प्रतिशत उम्मेद्वार कँही न कँही गम्भीर अपराधको आरोपमा मुछिएका छन् । यो चरणको निर्वाचनमा १ सय ८४ करोडपति उम्मेद्वार मैदानमा उत्रिएका छन् । यो निर्वाचनमा काँग्रेस आईकी प्रभावशाली नेतृ सोनिया गान्धी, राजिव गान्धी, भाजपा नेता राजनाथसिंह लगायतको पनि राजनीतिक भविष्य निर्धारण हुँदैछ ।

यीमध्ये सबैभन्दा धनी भारतीय जनता पार्टीबाट काँग्रेसमा सामेल भएका नेता शत्रुधन सिन्हाकी पत्नी पुनम सिन्हा चुनावी मैदानमा रहेकी छिन् । रोचक त के छ भने उनी लखनउबाट समाजवादी पार्टीका तर्फबाट चुनाव लडिरहेकी छिन् । पुनमसँग १ सय ९३ करोड (भारु) बराबरको सम्पति रहेको बताइन्छ । एसोसियसन फर डेमोक्रेटिक रिफर्म(एडिआर) को रिपोर्ट अनुसार पाँचौ चरणमा निर्वाचन लड्ने ६७४ उम्मेद्वारहरुमध्ये ६६८ जनाको प्रवल सम्भावना रहेको छ ।

त्यस्तै यो पटक निर्वाचन लड्ने उम्मेद्वारहरु विभिन्न अपराधका आरोपहरु समेत लागेको देखिन्छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार पाँचौ चरणको निर्वाचन लडिरहेका ९ उम्मेद्वाहरुमाथि महिला हिंसा गरेका घटनाहरु दर्ज भएका छन् । यी घटनामा यौन उत्पीडन, दुष्कर्म, महिलामाथि हुने क्रुर व्यवहार लगायतका घटना दर्ता भएका छन् । त्यस्तै आपराधिक घटनामा दोषी ठहर भएका ६ उम्मेद्वार पनि मैदानमा छन् । त्यस्तै २१ उम्मेद्वारमाथि विभिन्न घटनामा हत्या प्रयास गरेको आरोप लागेको छ भने ५ उम्मेद्वारमाथि फिरौती र अपहरणको आरोप लागेको छ । त्यस्तै ५ जना उम्मेद्वारका विरुद्ध झुठ्ठा वयान दिएको आरोपमा मुद्धा विचाराधीन रहेको छ ।

कुन दलका कति छन् आरोपी उम्मेद्वार ?

भाजपाका कूल ४८ उम्मेद्वारमध्ये २२ जनालाई केही न केही अपराधको आरोप लागेको देखिन्छ । तीमध्ये १९ जनालाई गम्भीर अपराधका मुद्धा लागेको छ । त्यसैगरी काँग्रेस आईका ४५ जना उम्मेद्वारहरुमध्ये १४ जनालाई अपराधको आरोप लागेको छ । त्यसमध्ये १ जनालाई गम्भीर अपराधको आरोप लागेको छ । बहुजन समाजवादी पार्टीका ३३ जना उम्मेद्वारहरुमध्ये ९ जनामाथि मुद्धा परेको छ भने त्यसमध्ये ७ जनालाई गम्भीर आरोप लागेको छ । समाजवादी पार्टी ९ जनामध्ये ७ जनालाई गम्भीर प्रकृतिका घटना गराएको आरोप लागेको छ । २ सय ५२ जना स्वतन्त्र उम्मेद्वारहरुमध्ये २६ जनामाथि अराजक गतिविधि गरेको आरोप लागेको छ । तीमध्ये १८ जनालाई गम्भीर प्रकृतिको आरोप लागेको छ ।

१ सय ८४ उम्मेद्वारको सम्पति १ करोडभन्दा माथि

यो चरणको निर्वाचनमा ६७४ जना उम्मेद्वार चुनावी मैदानमा भएपनि एडिआरका अनुसार ६ सय ६८ जना उम्मेद्वारले मात्र चुनाव लड्ने सम्भावना रहेको छ । तीमध्ये १ सय ८४ जना अर्थात २८ प्रतिशत उम्मेद्वारको सम्पति १ करोडभन्दा माथि रहेको देखिन्छ । चुनावी मैदानमा रहेको भारतीय जनता पार्टीका ४८ जना उम्मेद्वारहरुमध्ये ३८ जना अर्थात ७९ प्रतिशत उम्मेद्वार करोडपति रहेका छन् भने काँग्रेस आईका ४५ जना उम्मेद्वारहरुमध्ये ३२ जना अर्थात ७१ प्रतिशत करोडपति रहेका छन् । त्यस्तै बहुजन समाजवादी पार्टीका ३३ जना उम्मेद्वारहरुमध्ये १७ जना र समाजवादी पार्टीका ९ उम्मेद्वारहरुमध्ये ८ जनाको सम्पति १ करोडभन्दा माथि रहेको छ । त्यस्तै ३१ जना स्वतन्त्र उम्मेद्वारहरुको सम्पति करोडभन्दा माथि रहेको देखिएको छ । यो चरणको निर्वाचनमा प्रतिस्पर्धामा रहेका उम्मेद्वारहरुको औसत सम्पति २.५ करोड रहेको छ ।

३ जना सबैभन्दा धनी उम्मेद्वार
यो पटकको निर्वाचनमा सबैभन्दा बढी सम्पति उत्तर प्रदेशस्थित लखनउबाट उम्मेद्वार रहेकी पुनम सिन्हाको रहेको देखिएको छ । उनको सम्पति १ सय ९३ करोड (भारु) भन्दा माथि रहेको देखिन्छ भने उत्तर प्रदेशकै सितापुरबाट चुनावी मैदानमा रहेका प्रगतिशील मोर्चाका विजयकुमारको सम्पति १ सय ७७ करोडभन्दा माथि रहेको छ । त्यस्तै झारखण्डको हजारीबागबाट उम्मेद्वार रहेका जयन्त सिन्हाको सम्पति ७७ करोडभन्दा माथि रहेको छ ।

सबैभन्दा कम आय भएका उम्मेद्वार

राजस्थानको दौसाबाट पीपीआई पार्टीको तर्फबाट चुनाव लडिरहेका रिंकुकुमार, दौसाबाटै बहुजन समाजवादी पार्टीको तर्फबाट चुनाव लडिरहेका द्वारकाप्रसाद, मध्यप्रदेशको रीवाबाट अधिकार विकास पार्टीको तर्फबाट चुनाव लडिरहेका वावुलाल कौल सबैभन्दा कम सम्पति भएका उम्मेद्वार देखिएका छन् । रिँकुकुमार, द्वारकाप्रसाद र कौलको सम्पति क्रमशः १०००, १००० र १२०० देखिएको छ ।

यो चरणको निर्वाचनमा ४० प्रतिशत अर्थात २ सय ६४ जना उम्मेद्वार ५ देखि १२ कक्षासम्म पास गरेका छन् । जबकि ५२ प्रतिशत अर्थात ३ सय ८४ जना उम्मेद्वारले स्नातक वा सोभन्दा माथि अध्ययन गरेको पाइएको छ । ४३ जना उम्मेद्वार भने साक्षर मात्र रहेको पाइएको छ भने ६ जना पुरै निरक्षर रहेका छन् । यो निर्वाचनमा १२ प्रतिशत महिलाको उम्मेद्वारी परेको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180